काठमाडौं– नेकपा एकीकृत समाजावादी पार्टीको अध्यक्षमा माधवकुमार नेपाल निश्चित भएका छन् । त्यस्तै महासचिवका लागि घनश्याम भुसालको नाममा पनि सहमति जुटेको छ चार दिनदेखि काठमाडौंको कमलादीमा जारी दशौँ महाधिवेशनबाट मुख्य दुई कार्यकारी पदमा पुरानै अनुहार सर्वसम्मत दोहोरिने भएका हुन् ।उता पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा भने अझै सहमति बनिसकेको छैन । वरिष्ठ उपाध्यक्षमा अध्यक्ष नेपालको गुटबाट राजेन्द्रप्रसाद पाण्डेको बलियो दाबेदारी छ ।तर सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसालको गुटबाट वरिष्ठ उपाध्यक्ष पदमा प्रकाश ज्वालाले पनि दाबी गरेका छन् ।अध्यक्ष पदमा नेपाल दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्ष पद आफूहरूले पाउनुपर्ने अडान खनाल र भुसाल समूहले राखेको छ ।त्यस्तै सचिव पदमा पनि नेता मेटमणि चौधरीले दाबेदारी प्रस्तुत गरेका छन् । नेकपा एमाले विभाजनताका नयाँ पार्टी खोल्न माधव नेपाललाई दह्रो साथ दिएका उनी थारु समुदायबाट पार्टीको नेतृत्व गर्ने योजनामा छन् ।समाजवादीले अध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षसहितका पदहरूमा सहमतिबाटै नाम टुंगो लगाउने गरी छलफल अघि बढाइरहेको छ ।‘मिलेसम्म सबै पदाधिकारीहरूमा सहमतिको कोसिस हुनेछ । त्यही दिशामा छलफल हुँदा अध्यक्ष र महासचिवमा सहमति बनेको हो’, महाधिवेशनस्थलबाट एक नेताले भने, ‘पदाधिकारीबाहेक केन्द्रीय सदस्यसहितका पदमा सहमति बन्न नसके निर्वाचनबाट छिनोफानो गरिने छ।’यसअघि अध्यक्ष पदको दौडमा रहेका सम्मानित नेता खनाल मौन बसेका छन् । उनी महाधिवेशनमा बन्द सत्रको अध्यक्षमण्डलको अध्यक्षको भूमिकामा छन् । उनी अघि नसरेपछि भुसालले अध्यक्ष हुन खोजेका थिए । तर यस पटक नेपालले नै अध्यक्षमा आफूलाई राख्न सफल भएका छन् ।
