काठमाडौंर । बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

गुल्मीको मालिका गाउँपालिका–६ कँडेलपाटास्थित भेषबहादुर विकको घर पुरिँदा विक परिवारका पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भेषबहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सीता विक, नातिनीद्वय सपना र विपना विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरीले जानकारी दिय ।
यस्तै, शुक्रबार राति भएको वर्षाका कारण बागलुङ गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका प्रेम विकको घर पहिरोमा पुरिँदा ५५ वर्षीय प्रेम र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।
पहिरोमा परी प्रेमकी बुहारी कुमारी विक र नाती शिशिर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिय ।
पहिरो शनिबार बिहान ३ बजेतिर गएको र हाल घटनास्थलमा प्रहरी पुरेर उद्दार कार्य जारी राखेको यादवले जानकारी दिय।
यस्तै, स्याङ्जामा गएरातिको पहिरोले घर बगाउँदा एकै परिवारका दुई आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदीखोला गाउँपालिका–५ दुर्गा जिटी र उहाँकी तीन वर्षीया छोरी निकिसा जिटी छन् ।