२४ डिसेम्बर, १९७९ को मध्यरात अफगानिस्तानमा सोभियत संघका २८० मिलिट्री एयरक्राफ्ट काबुलमा उत्रिए। करिब २५ हजार सैनिकले काबुल कब्जा गरे। लडाकु विमानले अफगानिस्तानको नांगराहार प्रान्तमा बम खसाल्न सुरु गरे। त्यहाँ रहेका एक व्यक्ति आफ्नो ४ वर्षीय छोरोसहित परिवार लिएर भागे। ज्यान बचाएर परिवारसहित अफगानी बोर्डर पार गरेपश्चात् उनले लामो सास फेरे।अफगानिस्तानबाट भागेर पाकिस्तान पुगेको उनको परिवारले पेशावरको शरणार्थी शिविरमा बास पायो। अवाेध चार वर्षीय बालक क्याम्पमै हुर्किरहेका थिए। उनको क्रिकेटमा निकै ठूलो लगाव थियो। उनले पाकिस्तान टिमले क्रिकेट खेलेको एकोहोरो हेरिरहन्थे। ९० को दशकमा पाकिस्तानमा क्रिकेटको क्रेज अत्यधिक थियो। जसले पनि क्रिकेटको मात्र कुरा गर्थे। यो क्रिकेट क्रेज १९९२ मा चरम उत्कर्षमा थियो, जतिबेला पाकिस्तानले विश्वकपको उपाधि जितेको थियो।यही समयमै बच्चाले शरणार्थी क्याम्पमा आफ्ना साथी भेला गरेर क्रिकेट खेल्न थाले। ती बच्चा थिए- ताज मलिक। उनले सपना देखे- एउटा अफगानिस्तानको पनि पाकिस्तानको जस्तै राष्ट्रिय टिम भइदिए हुन्थ्यो। ताजले क्याम्पमा एउटा ठूलो सपना सजाए, अफगानिस्तानको टिमले संसारभर क्रिकेट खेलाेस्।


ताजले आफ्नो सपनालाई साकार पार्न पाकिस्तानको घरेलु लिग खेल्ने अफगानी खेलाडीलाई आफ्नो देशको टिम बनाउनका लागि आग्रह गर्थे। र भन्थे- जाऔं हामी काबुल गएर खेलौं। देशको टिमका रूपमा। तर उनको कुरा कस्ले सुन्थ्यो र?अर्कोतर्फ सोभियत युनियन (रुस) अफगानिस्तानबाट फर्किसकेको थियो। ताज मलिक अफगानिस्तान फर्किए र क्रिकेट टिम बनाए। पाकिस्तानको भूमिबाट सुरु भएको अफगानी क्रिकेटले औपचारिक रूपमा देशमा आफ्नो उपस्थिति देखाउन सुरु गर्यो।
आतंक र युद्धकाे बीचमा जन्मिएको अफगानी क्रिकेट
अफगानिस्तानमा क्रिकेटको सुरुवात १९ औं शताब्दीमा एंग्लो (अफगान युद्धको दौरान सुरु भएको मानिन्छ। १८३० को दशकमा ब्रिटिश सैनिक काबुलमा क्रिकेट खेल्ने बेलामा भारतमा पनि अंग्रेजहरू नै क्रिकेट खेल्ने गर्थे।९० को दशकको सुरुवातबाट अफगानिस्तानमा सोभियत आक्रमण सुरु भएको थियो। युद्धको कारण अफगानिस्तानमा मानिसहरू पाकिस्तानमा शरण लिने गर्थे। त्यही भूमिमै ताज मलिकले अफगानी क्रिकेट टिमको परिकल्पना गरेका थिए। उनले अफगानी क्रिकेट टिम बनाउन मिहिनेत गरे। पछि उनलाई ‘फादर अफ अफगान क्रिकेट’ को उपाधिसमेत दिइयो।
ताज मलिकले अफगानी टिममा ती खेलाडीलाई भर्ती गरे जो पाकिस्तानको घरेलु लिगमा खेल्थे। उनले खेलाडीलाई भेटेर आफ्नो देशबाट खेल्नका लागि कन्भिस गर्थे। काबुल बोलाउँथे। यस दौरान ताज मलिकको भेट अल्लाह दाद नूरीका साथ भयो। नुरी पनि चाहन्थे कि अफगानिस्तानको आफ्नै टिम हाेस्। नुरीले पाकिस्तानमा अफगानी क्रिकेट क्लब बनाएका थिए। जसको टिम पाकिस्तानको पेशावरमा अन्य क्लबसँग प्रतिस्पर्धा गर्थ्यो। पछि यो क्लबले निकै राम्रो प्रदर्शन गर्न थाल्यो।१९९५ मा पहिलो पटक अफगान ओलम्पिक कमिटीको सहयोगमा अफगान क्रिकेट फेडेरेशन गठन भयो। नुर अध्यक्ष भए भने ताज महासचिव बने। साथै ताज अफगानिस्तानको पहिलो मुख्य प्रशिक्षकसमेत बने।
तालिबानद्वारा मान्यता दिएको पहिलो खेल
कडा तालिबान शासनबीचमा अफगानिस्तानमा क्रिकेटको जन्म भएको थियो। शरिया कानुनबाट चल्ने तालिवान सरकारले सुरुवातमा क्रिकेटसँगै सबै खेलमा प्रतिबन्ध लगाएको थियो। तर पछि क्रिकेटलाई पुरै शरीर ढाकिने लुगा लगाउने खेल भन्दै खुल्ला गर्याे। खेलाडी एक अर्कामा निकै कम सम्पर्कमा रहने गर्थे। एक-अर्कालाई निकै कम छुने गर्थे। सन् २००० मा क्रिकेट तालिबानद्वारा पहिलो मान्यता प्राप्त खेल बन्यो।इएसपिएनका अनुसार तालिबानबाट मान्यता पाउनुमा अफगानिस्तानका मानिसहरू पनि शरणार्थी क्याम्पमा क्रिकेट खेल्ने गर्थे। २००१ मा अफगानिस्तानलाई आइसिसीले एफिलिएट मेम्बरका रूपमा मान्यता दियो।
तालिबान शासन सुरु भएपछि रासिद र नबीले देश छाडे
१५ अगस्ट २०२१ मा तालिवानले अफगानिस्तानमा पुन: कब्जा गर्याे। यो दिन अफगानिस्तानका तीन स्टार खेलाडी- राशिद खान, मोहम्मद नाबी र मुजीब उर रहमान ‘द हन्ड्रेड’ प्रतियोगिताका लागि इंग्ल्यान्डमा थिए। बाँकी देशमा रहेका धेरै खेलाडी भने युद्ध क्षेत्रमा फसेका थिए। यो बीचमा रासिद र नाबीले सोसल मिडियामार्फत विश्वभरका शीर्ष नेतृत्वलाई सम्बोधन गर्दै अफगानिस्तानमा महिला, बच्चा र धेरै परिवार ध्वस्त भएको भन्दै एक्लै नछाड्न आग्रह गरे।तालिवान शासन आएसँगै महिला क्रिकेटमा प्रतिबन्ध लाग्यो। तर पुरुष क्रिकेटलाई समर्थन गर्ने घोषणा गर्याे। तालिबानले आफ्नो पहिलो शासनबाट क्रिकेट उदाएको भन्दै सपोर्ट गर्ने घोषणा गरेकाे हाे।९ सेप्टेम्बर २०२१ मा अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले आइसिसी टी-२० विश्वकप २०२१ का लागि टीमको घोषणा गर्याे। रासिद खानलाई टिमको कप्तान नियुक्त गरियो। तर रासिदले कप्तानबाट राजीनामा दिए। उनले छनोटकर्ताले आफ्नो सुझाव नलिइ टिम घोषणा गरेको भन्दै राजीनामा दिएका हुन्।सुरक्षाको कारण बलर राशीद खान र अलराउन्डर मोहम्मद नाबी काबुल छाडेर आफ्नो परिवारसहित दुबईमा बस्न थाले। बाँकी खेलाडी भने अफगानिस्तानमै अभ्यास गर्ने गर्थे।
भारतको ठूलो साथले फैलियो अफगानी क्रिकेट
अफगानिस्तान क्रिकेट अघि बढाउन भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले ठूलो सहयोग गर्याे। भारतकै सहयोगमा २०१३ देखि अफगानिस्तान आइसिसीको एसोसिएटेड देश बन्यो। त्यसपछि अफगानिस्तानलाई आइसिसीको फन्ड पनि प्राप्त हुन थाल्यो। फाइनान्सियल सहयोगसँगै अफगानिस्तान क्रिकेट बलियो बन्दै गयो।२०१५ को विश्वकपमा निकै उत्कृष्ट प्रदर्शन गर्न अफगानिस्तान सफल भयो। अमेरिका अफगानिस्तानमा रहेकै समयमा भारतको ठूलो सहयोग पाइरहेको थियो। जब अफगानिस्तानमा तालिवान शासनका कारण संकट बढेको थियो। त्यो समयमा टिमका खेलाडीहरूले अभ्यास गर्न पाएका थिएनन्। टिमले कुनै फन्ड पाएको थिएन। यस्तोमा अफगानी क्रिकेटको भविष्य संकटमा रहेको आंकलन भएको थियो। तर भारतले साथ भने निरन्तर दिइरह्याे।त्यसो त भारतले अफगानिस्तानको टोलीलाई भारतमा अभ्यासका लागि मैदान उपलब्ध त्यसअघि नै गराएको थियो। अफगानी टोलीलाई भारतले २०१६ मा नोएडा अन्तर्राष्ट्रिय मैदानलाई अफगानिस्तानको घरेलु मैदानका रूपमा प्रयोगको अनुमति दिएको थियो।त्यही मैदानमा निरन्तरको अभ्यासपछि २०१७ मा आयरल्यान्डसँग नोएडामा अफगानिस्तानले खेल्यो। यसको नतिजा यही बन्यो कि २०१७ मा अफगानिस्तान टेस्ट मान्यता प्राप्त देश बन्यो। बिसिसिआइले अफगानिस्तानका तत्कालीन राष्ट्रपति अशरफ गनीलाई बैंगलोरमा अफगानिस्तानको पहिलो टेस्ट खेल हेर्नका लागि निम्तो पठाएको थियो। पहिलो टेस्ट अफगानिस्तानले भारतसँग खेलेको थियो।टेस्ट मान्यतापछि देहरादुनमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदान अफगानिस्तानको घरेलु मैदान बन्यो। अफगानिस्तानले यो मैदानमा बंगलादेश विरुद्धको टी-२० सिरिजसमेत आयोजना गर्याे। २०१९ मा अफगानिस्तान क्रिकेट बोर्डको आग्रहमा लखनउको इकाना स्टेडियमलाई अफगानिस्तानको घरेलु मैदानका रूपमा प्रयोग गर्न अनुमति दिइयो। २०१७ मा भारतले अफगानिस्तानको कान्धारमा एउटा स्टेडियम नै बनाइदियो। टी-२० विश्वकपपछि अफगानिस्तान र बंगलादेशबीच यो मैदानमा टी-२० सिरिज खेल्ने कार्यतालिका रहेको छ।
आइपिएलले दियो अफगानिस्तानका खेलाडीलाई फक्रने अवसर
आइपिएल विश्वकै सर्वाधिक ठूलो टी-२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। आइपिएलले अफगानी खेलाडीहलाई ठूलो अवसरसँगै माया पनि दियो। २०१७ मा स्पिनर राशिद खान आइपिएल खेल्ने पहिलो अफगानी खेलाडी बने। त्यसपछि मोहमम्द नाबी, रहमनुल्लाह गुरबाज, नवीन उलहक हुँदै धेरै अफगानी खेलाडी अहिले पनि आइपिएलका विभिन्न फ्रेन्चाइज क्लबमा नियमित हिस्साका रूपमा रहेका छन्। त्यसो त भारतका पूर्व खेलाडी लालचन्द राजपुत तथा मनोज प्रभाकर जस्ता हस्तीले अफगानी क्रिकेटको प्रशिक्षक बनेर उनीहरूको प्रतिभालाई निखार्ने काम गरे।
अफगानिस्तानसँग पटक-पटक खेल्न अस्वीकार गरेको अस्ट्रेलिया
जारी टी-२० विश्वकपमा सायदै अस्ट्रेलियाले अफगानिस्तानसँग हारको कल्पना गरेको थियो। तर विश्व क्रिकेटकै लागि एक दुर्लभ जितका रूपमा अफगानी क्रिकेट रह्यो। जारी विश्वकपमा अस्ट्रेलियासँग हारेसँगै अफगानिस्तानको क्रिकेटको चर्चा उत्कर्षमा छ। त्यही अस्ट्रेलियाले २०२१ पछि तीन पटक अफगानिस्तानसँग खेल्न अस्वीकार गरेकाे थियाे। २०२१ मा पहिलो पटक होबर्टमा हुने अफगानिस्तान विरुद्धको एकमात्र टेस्ट खेल रद्द गर्दियो। २३ मार्च २०२३ मा अस्ट्रेलियाले ३ खेलको एकदिवसीय सिरिज खेल्न अस्वीकार गर्याे। यसको कारण अफगानिस्तानमा तालिवानले महिलामाथि खराब व्यवहार गरेको आरोप थियो।

त्यसपछि अस्ट्रेलियासँग युएईमा सिरिज खेल्ने सहमति बनेको थियो। पछि यो पनि अस्ट्रेलियाले अस्वीकार गर्याे। पटक-पटक घरेलु राजनीतिको कारण देखाएर अफगानिस्तानसँग खेल्न अस्वीकार गरेको अस्ट्रेलिया आइसिसी इभेन्टमा भने अफगानिस्तानको फेला मात्र परेन, त्यही खेल नै विश्वकपबाट बाहिरिने उसको टर्निङ प्वाइन्ट बन्यो।
टी-२० विश्वकपमा अफगानिस्तानको यात्रा
अफगानिस्तानले जारी विश्वकपमा सनसनीपूर्ण यात्रा जारी राखेको छ। सेमिफाइनसम्म पुगेको अफगानिस्तानले बिहीबार बिहान दक्षिण अफ्रिकासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ। उसले जारी प्रतियोगिताको पहिलो खेलमा युगान्डालाई ४ जुनमा १ सय २५ रनले हरायो। ८ जुनमा न्युजिल्यान्डलाई ८४ रनले हराएर सनसनी मच्चाएको अफगानिस्तानले १४ जुनमा पपुवा न्युगिनी (पिएनजी)लाई ७ विकेटले हरायो। १८ जुनमा वेस्ट इन्डिजसँग १०४ रनले हारेको अफगानिस्तान २० जुनमा भारतसँग ४७ रनले हार्याे। २३ जुनमा अस्ट्रेलियालाई २१ रनले हराउँदै अर्को सनसनी मच्चाएको अफगानिस्तान २५ जुनमा बंगलादेशलाई ८ रनले हराएर सेमिफाइनल प्रवेश गर्याे। २७ जुनमा दक्षिण अफ्रिकालाई हराए अर्को कीर्तिमान अफगानिस्तानले रच्ने छ।
टाइमलाइनमा अफगानिस्तानको क्रिकेट:
१८३९: बृटिश सैनिकहरूले अफगानिस्तानमा पहिलो पटक क्रिकेट खेले
१९९०: पाकिस्तानको शरणार्थी शिविरमा अफगानीहरूले क्रिकेट खेल्न सुरु
१९९५: अफगानिस्तान क्रिकेट बोर्डको स्थापना
२०००: तालिबान सरका द्वारा मान्यता प्राप्त पहिलो खेल
२००१: अफगानिस्तान आइसिसीको मान्यताप्राप्त सदस्य
२००३: एसियन क्रिकेट काउन्सिलको सदस्य
२००८: आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत डिभिजन ५ मा जित
२०१०: पहिलो टी-२० अन्तर्राष्ट्रिय आयरल्यान्ड विरुद्ध प्रतिस्पर्धा
२०११: पहिलो एकदिवसीय स्कटल्यान्ड विरुद्ध खेल्यो
२०१५: पहिलो पटक एकदिवसीय विश्वकपमा सहभागी। अस्ट्रेलियामा भएको प्रतियोगितामा स्कटल्यान्ड विरुद्ध विश्वकपमा पहिलो जित
२०१७: २२ जुनमा टेस्ट प्लेइङ राष्ट्रको दर्जा प्राप्त
२०१८: पहिलो टेस्ट भारत विरुद्ध खेल्यो
२०२४: टी-२० विश्वकपमा पहिलो पटक सेमिफाइनलमा