काठमाडौँ । दक्षिण अफ्रिका अपराजित रहँदै आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । ‘सुपर–८’ चरणअन्तर्गत सोमबार सम्पन्न ‘समूह–२’ को खेलमा आयोजक राष्ट्र वेस्ट इन्डिजलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । दक्षिण अफ्रिका जवाफी ब्याटिङ गर्न ओर्लिएपछि नर्थ साउन्डमा वर्षा सुरु भएको थियो । वर्षाले लामो समय खेल अवरुद्ध भएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १७ ओभरमा एक सय २३ रन बनाउनु पर्ने गरी दक्षिण अफ्रिकाले नयाँ लक्ष्य पाएको थियो । दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाएर एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।

टोली अप्ठ्यारो स्थितिमा रहँदा चौथो नम्बरका ब्याट्सम्यान स्टब्सले २७ बलको सामना गरी चार चौका पनि प्रहार गरे । पाँचौँ नम्बरका ब्याट्सम्यान हेनरिच क्लासनले पनि टोलीको खातामा २२ रन थपे । उनले केवल १० बलमा एक छक्का र तीन चौका प्रहार गरे । कप्तान एडन मार्क्रमले १८ र ओपनर क्विन्टन डी काकले १२ रन बटुलेका थिए । मार्को यानसेनले टोलीका लागि अविजित २१ रनको योगदान गरे । उनले केवल १४ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । कागिसो राबडा पाँच रनमा अविजित रहे । क्यारेबियन टोलीका बलर रोस्टन चेजले तीन विकेट लिए । उनले तीन ओभरमा १२ रन खर्चिए । आन्द्रे रसेल र अल्जारी जोसेफले पनि दुई–दुई विकेट हात पारे । आफ्नो अन्तिम खेलमा विजयी भएको भए वेस्ट इन्डिज दक्षिण अफ्रिकालाई पछि पार्दै सेमिफाइनलमा पुग्ने थियो । दक्षिण अफ्रिकाभन्दा वेस्ट इन्डिजको नेट रन रेट राम्रो थियो । अर्को आयोजक राष्ट्र अमेरिका पनि यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि रोस्टन चेजले अर्धशतक बनाएका थिए । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ४२ बलमा दुई छक्का र तीन चौकाको मद्दतले ५२ रन बनाएका थिए ।
ओपनर कायल मायर्सले पनि ३५ रन बनाएका थिए । उनले ३४ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । यसका अतिरिक्त वेस्ट इन्डिजका लागि आन्द्रे रसेल (१५ रन) र अल्जारी जोसेफ (अविजित ११ रन) ले मात्र दोहोरो अङ्कमा रन बटुल्न सके ।
दक्षिण अफ्रिकाका बलर ताबरिज सामसीले तीन विकेट लिए । उनले चार ओभरमा २७ रन खर्चिएका थिए । कागिसो राबडा, केशव महाराज, एडन मार्क्रम र मार्को यानसेनले पनि दक्षिण अफ्रिकाका लागि एक–एक विकेट हात पारे ।