काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’ को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।“पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्ण रुपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउन सकिन्छ”, उनले भने ।महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत् छलफल गरिने बताए । उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । “निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशील सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ”, उनले भने ।उनले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विसं २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गरे । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो । महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभए पनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गरे । “कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठिक ठाउँमा उभ्याउने काम कांग्रेसको हो”, थापाले भने ।उनले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरू संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । “प्रदेशहरू अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरू घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले बताए । उनले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे ।पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौँको सङ्गठन बलियो हुँदा देशभरको पार्टी सङ्गठन बलियो हुने बताए । “काठमाडौँको सङ्गठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुत बन्छ”, उनले भने । भ्रष्टाचारविरुद्ध कांग्रेस सशक्त भएर उभिनुपर्ने उनको भनाइ छ ।नेता पौडेलले जनताका विषयलाई एजेन्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताए । “एजेन्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ”, नेता पौडेलले भने । क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो । नेता पौडेलले कलङ्की- चाबहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराए ।कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसलाई राम्रो, गतिशील र नेतृत्व प्रदान गर्ने शक्तिका रुपमा अगाडि बढाउनुपर्ने बताइन् । “लोकतन्त्रलाई ल्याउनका लागि महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेसलाई काठमाडौँबासीले बलियो भएको हेर्न चाहन्छ, यसलाई तपाईँ हामी मिलेर पूरा गर्नुपर्छ”, उनले भनिन् ।कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले नेताले आफ्नो क्षेत्र सुरक्षित गर्न काठमाडौँलाई प्रयोगशाला बनाएको बताए । “नेताले आफूले चुनाव जित्नका लागि राम्रो सङ्गठन भएको काठमाडौँमा गठबन्धन गर्दा यहाँको सङ्गठन कमजोर भयो”, उनले भने ।कांग्रेस काठमाडौँका पूर्व सभापति भीमसेनदास प्रधानले पार्टीको विधानलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने बताए । उनले पार्टीभित्र एउटै व्यक्तिले पटक(पटक अवसर पाउने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिए । “सहकारी अनियमितताको विषयलाई ओझेलमा पार्ने छानबिन समिति चयन गरिएको छ”, उनले भने ।कार्यक्रममा वाग्मती प्रदेशका सहमहामन्त्री जीवन डङ्गोल, बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठ, कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का पूर्व सभापति न्हुच्छेनारायण मानन्धर, कांग्रेस काठमाडौँ महानगरपालिका- २८ का सभापति दीपङ्गप्रसाद प्रधानाङ्गलगायतले देश र जनताले कांग्रेसको एजेन्डा खोजेको बताए ।कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) का सभापति ख्यामराज तिवारीले सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ का पूर्वक्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धर, काठमाडौँ महानगरपालिका- २६ का पूर्व अध्यक्ष विश्वम्भर लाल प्रधानलगायत पार्टीमा विशिष्ट योगदान दिने डेढ दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।
