काठमाडौँ-टी–२० विश्वकप क्रिकेट अन्तर्गत विहीबार विहान भएको खेलमा साविक च्याम्पियन इंग्ल्यान्डले दुई पटकको विश्व विजेता वेस्टइन्डिजमाथि ८ विकेटको प्रभावसालि जित हासिल गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले दिएको १ सय ८१ रनको लक्ष्य इंग्ल्यान्ड १५ बल बाँकी हुँदै २ विकेट गुमाएर पुरा गर्यो।इंग्ल्यान्डको जितमा ओपनर फिल्ट साल्टले ४७ बलमा ७ चौका र ५ छक्काको सहयोगमा ८७ रनको नटआउट इनिङ खेले। त्यस्तै जोनी ब्यरिस्टोले २६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४८ रनमा अविजित फर्किए। त्यस्तै कप्तान जोस बटलरले २५ रन बनाएर आउट हुँदा मोइन अली १३ रनमा आउट भएका थिए। वेस्टइन्डिजका लागि रोस्टन चेज र आन्द्रे रसेलले समान १–१ विकेट लिए।त्यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। उसका लागि जोनसन चार्लेसले ३८ रन बनाउँदा निकोलस पुरन र कप्तान रोभमन पावेलले समान ३६–३६ रन बनाएका थिए। त्यस्तै ब्रान्डन किंग्सले २३ रन बनाउँदा सर्फेन रुथफोर्ड २८ रनमा अविजित रहे।इंग्ल्यान्डका लागि जोफ्रा आर्चर, अदिल रसिद, मोइन अली र लियम लिभिङ्स्टोनले समान १–१ विकेट लिए। विश्वकप अन्तर्गत सुपर आठमा आज राती ८ः१५ मा अफगानिस्तान र भारत ब्रिजटाउनमा प्रतिस्पर्धा गर्दै छन्। यसअघि सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई हराएको थियो।
