बाजुराको बूढीनन्दा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको भवन साघुँरो हुँदा केही प्रहरी पालमा बस्न बाध्य छन् ।आफ्नै भवन नहुँदा कोल्टी विमानस्थलको घर भाडामा लिएर इलाका प्रहरी कार्यालय सञ्चालन गरिएको छ । कार्यालयमा प्रहरी निरीक्षक ९इन्सपेक्टर०को नेतृत्वमा ३५ जना प्रहरी छन् ।भवनमा बस्ने ठाउँ नहुँदा केही प्रहरी पालमा बस्ने गरेका छन् भने केही बजारमा घर भाडामा लिएर बस्ने गरेको इलाका प्रहरी कार्यालय बूढीनन्दाका प्रहरी निरीक्षक केशव खड्काले बताए ।कार्यालयमा तीन महिला प्रहरी कार्यरत छन् । उनीहरूका लागि छुट्टै कोठाको व्यवस्था नहुँदा बजारमा कोठा भाडा लिएर बस्ने गरेका छन् ।भवन नहुँदा नियमित कामदेखि थुनुवा राख्न समस्या भएको खड्काले जानकारी दिए ।इलाका प्रहरी कार्यालय बूढीनन्दाले बाजुराका चारवटा पालिकाको सुरक्षा हेर्ने गरेको छ । त्यो क्षेत्रमा ५३ हजारभन्दा बढी जनसङ्ख्या छ । भौगोलिक विकटता र ठूलो भूगोल भएकाले इलाकामा थप प्रहरीको आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीले बताए । उनले भने, ‘तर भवन नहुँदा थप प्रहरी पठाउन सकिएको छैन ।

’भवन निर्माणका लागि पर्याप्त जग्गा नहुँदा निर्माण गर्न नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भवनका लागि कम्तीमा पनि ५ रोपनी जग्गा आवश्यक रहेको प्रहरीले जनाएको छ । गिरीले भने, ‘जग्गाका लागि स्थानीय सरकारसँग समन्वय गरे पनि व्यवस्थापन हुन सकेको छैन ।’भवन र जग्गा व्यवस्थापन नहुँदा केही वर्ष पहिला बूढीनन्दा नगरपालिकामा रहेको नेपाली सेनाको ब्यारेक फिर्ता भएको थियो ।