काठमाडौँ । विभिन्न सहकारीमा भएको बचत रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन समितिले तथ्य र सूचना सङ्कलनका लागि कार्यसूची तय गरेको छ । नयाँ बानेश्वरमा आइतबार बसेको समितिको बैठकले कार्यविधि अनुसार कार्यसूची तय गरेको हो । पहिलो चरणमा सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, प्रादेशिक निकाय, स्थानीय तह लगायत निकायबाट तथ्य सङ्कलनका लागि कार्यसूची तय भएको सभापति सूर्य थापाले बताए । बैठकले समितिले औपचारिक रूपमा काम अगाडि बढाउन सबै तयारी गरेको उनले जिकिर गरे ।‘समितिले औपचारिक रूपमा काम अगाडि बढाउन सबै तयारी गरेको छ । कार्यविधि जुन बनाएको छौँ, त्यसले काम गर्न धेरै आधार दिएको छ । पहिलो छलफल सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी सहकारी व्यवस्थापन समितिले सहित निकायहरूसँग छलफल र आजको सहकारीको समस्याको बारेमा बचत अपचलन र दुरुपयोगको बारेमा जानकारी लिने । त्यसआधारमा अरू तथ्य सूचना प्राप्त गर्नेछौँ । प्रादेशिक सहकारी निकाय र सम्बन्धित स्थानीय तहबाट पनि तथ्यहरू सङ्कलन गर्ने कार्यसूची तय गरेर आजको बैठक सम्पन्न भएको छ’, थापाले भने ।बैठकमा समितिका सदस्यहरू बाहेक यसको कार्यादेश टिओआरमा हस्ताक्षर गरेका माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेसका सहमहामन्त्री जीवन परियार, कांग्रेसकै प्रमुख सचेतक रमेश लेखक लगायत सहभागी भएको थापाले जानकारी दिए ।
