काठमाडौँ – सात वर्ष राष्ट्रपति भएकी विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन्।२०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी भण्डारीले आफ्नो पूर्ववत पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरण गरेकी हुन्।एमाले पार्टी कार्यालय स्रोतका अनुसार गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेका हुन्। एमालेको सक्रिय राजनीतिमा फर्कनका लागि पार्टीभित्र वातावरण बनाइरहेकी भण्डारी अब औपचारिक रुपमा एमालेको संगठित सदस्य भएकी छन्।भण्डारीको पार्टी सदस्यता नवीकरणबारे जिज्ञासा राख्दा संगठन विभाग प्रमुख अधिकारी खुल्न चाहेनन्। उनले आफू बाहिर गएको बेला पार्टी सदस्यता नवीकरण भएको हुनसक्ने बताए। आफू बैठकमा रहेको भन्दै उनले थप कुरा गर्न चाहेनन्। देश सञ्चारसँग अधिकारीले भने, ‘कार्यालयमा हेर्नुपर्छ। म बाहिर गएको बेला भयो कि? अहिले म मिटिङमा छु। पछि कुरा गरौँला नि।’सात वर्ष राष्ट्रपति पदमा जानुअघि उनी एमालेको उपाध्यक्ष थिइन्। भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन एमालेकै केही नेताहरु लागिपरेका छन्। गत जेठ १६ गते एमालेले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटन भण्डारीले गरेकी थिइन्।दुई दिन चलेको भेलाको उद्घाटन गर्दा अध्यक्ष केपी ओली अतिथिका रुपमा मात्रै सीमित भए। पार्टी अध्यक्ष नै उपस्थित कार्यक्रममा भण्डारीबाट कार्यक्रमको उद्घाटन भएर ओली ताली बजाउन मात्रै सीमित भएको घटनाले एमालेमा उनको सक्रियताको प्रष्ट संकेत गरेको थियो। भण्डारीले सदस्यता नवीकरण गरेपछि एक नेताले भने, ‘उहाँ साधरण सदस्यमै रहन सदस्यता नवीकरण गरेको होइन। पार्टी नेतृत्व गर्ने योजनाका साथ आउनुभएको होला।’भण्डारी सक्रिय राजनीतिमा फर्किँदा विघठित नेकपा फर्काउने बृहत् रोडप्याप अघि सारिएको छ।राष्ट्रपति पदमा रहँदासमेत उनले आफू पूर्ववत अवस्थामा आबद्ध रहेको एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार पदीय गरिमा बिर्सेर काम गरेको भन्दै पटक–पटक आलोचनामा परेकी थिइन्।०७४ को निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै भण्डारीले ओलीलाई ०७४ फागुन ३ गते सांसद पदको सपथ नै नलिई धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। संविधानले प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य हुन अनिवार्य हुने व्यवस्था गरे पनि त्यसविपरीत सांसदका रुपमा ओलीले शपथ ग्रहण नै नगरी प्रधानमन्त्री नियुक्त गरिन्। संविधानविपरीत ओलीले दुई पटक गरेको संसद विघटन सिफारिसलाई भण्डारीले सदर गरेकी थिइन्।पूर्वराष्ट्राध्यक्ष पार्टीको सदस्य नबन्ने अन्तराष्ट्रिय परम्परा छ। अर्का पूर्वराष्ट्रपति रामवरण यादव कांग्रेस पार्टीका औपचारिक कार्यक्रमहरुमा सहभागी हुने गरे पनि पार्टी सदस्यता भने लिएका छैनन्।
