काठमाडौँ- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेट बक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो।बजेटमा चालुतर्फ २६ अर्ब १० करोड १७ लाख ८२ हजार छुट्याइएको छ। त्यसैगरी पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रहेको छ। वित्तीय व्यवस्थातर्फ भने एक अर्ब ५० करोड विनियोजन गरिएको मन्त्री थपलियाले बताए।कुल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको मन्त्री थपलियाले जानकारी दिए। गत वर्ष प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाखको बजेट ल्याएको थियो।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेश आर्थिक मामिला मन्त्री सुरेन्द्र पालले शनिबार पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको जानकारी दिए । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गगरेको हो ।त्यस्तै चालु ११ अर्ब ०७ करोड १९ लाख ६३ हजार वनियोजित गरिएको घोषणा गरे । त्यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत रु. २ अर्ब ९२ करोड १७ लाख १० हजार र वित्तीय व्यवस्थातर्फ रु.१० करोड हुने गरी विनियोजन भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु. १ अर्ब ६० करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु. ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने रु.४ करोड ४० लाख ५५ हजार, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु. ८ अर्व ७२ करोड रहेको छ ।चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम रु. ६ अर्व १५ करोड ८३ लाख, ससर्त अनुदानबाट प्राप्त हुने रु.३ अर्ब १३ करोड ३४ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. १ अर्व ४२ करोड र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको रु. ५५ करोड ६० लाख प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री पालले घोषणा गरेका छन् । प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ।जसमा चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत रहेको छ। अर्थमन्त्री महेन्द्र केसीले प्रदेशसभामा बजेट पेस गरेका हुन्।सुशासन र सामाजिक न्यायसहितको समृद्ध कर्णाली, सामाजिक आर्थिक र भौतिक विकाससहितको समाजवाद उन्मुख कर्णाली भन्ने मुल ध्येयका साथ बजेट सार्वजनिक गरिएको छ।आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशिलता विकास गरी समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न आगामी बजेट केन्द्रित हुने अर्थमन्त्री केसीले बताए।
कोशी प्रदेश
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रदेशसभामा पेश गरेको छ।आर्थिक तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार चालू आर्थिक वर्षको भन्दा सानो बजेट प्रस्तुत गरेका हुन्।सार्वजनिक गरेको बजेटमध्ये चालू खर्चतर्फ १४ अर्ब ४७ करोड ३० लाख छ। पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख हुँदा वित्तीय व्यवस्थापन ४ अर्ब ५८ करोड ५० लाख रहेको छ। प्रदेशभर रहेका १३७ पालिकालाई स्थानीय तहका विभिन्न अनुदानतर्फ भने कोशी सरकारले ४ अर्ब ५८ करोड ५० लाख रकम विनियोजन गरेको छ।
मधेश प्रदेश
मधेश सरकारले अगामी आव २०८१/८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री भरतप्रसाद साहले शनिवार चालुतर्फ १६ अर्ब ०७ लाख १ हजार र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरेका छन्।आन्तरिक राजस्वबाट ९ अर्ब ०७ करोड ३० लाख, वित्तीय हस्तान्तरणबाट पाउने अनुदान ७ अर्ब ७९ करोड ९२ लाख तथा शसर्त अनुदान ३ अर्ब ५५ करोड ७८ लाख हजार उठ्ने अनुमानसहितको बजेट आएको हो।संघीय सरकारको राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड, गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड २१ लाख ७० हजार र आन्तरिक ऋण २ अर्ब उठाउने जनाइएको छ।
गण्डकी प्रदेश
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ।गण्डकी प्रदेशसभामा अर्थमन्त्री डा. टकराज गुरुङले शनिबार उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका हुन्।यसैगरी चालूतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ रहेको छ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारले आव २०८१/८२ का लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट छुट्याएको छ।प्रदेशसभामा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले चालू आवको भन्दा करिब डेढ अर्बभन्दा कम बजेट सार्वजनिक गरे।चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८.८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३.०९ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत विनियोजन गरिएको छ।