काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको संविधानले स्थानीय तहलाई दिएको अधिकारको पूर्ण प्रयोग गरिने बताएका छन् ।काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख शाहले ‘सांस्कृतिक शहर, समृद्ध महानगर’ को परिकल्पनालाई मूर्तरूप दिन संविधानले दिएको अधिकारको अधिकतम प्रयोग गरिने बताएका हुन् ।उनले काठमाडौं महानगरलाई सुरक्षित, समावेशी, सम्पन्न तथा जीवन्त शहर बनाइने बताए । उनले आर्थिक विकास क्षेत्रतर्फ कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई सुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरे ।स्थानीय तहले १० असारभित्र आगामी आवको बजेट ल्याइसक्नुपर्छ । सोही सिलसिलामा काठमाडौं महानगरले शुक्रबार नीति तथा कार्यक्रम ल्याएको हो ।
