चितवन । पूर्वी नवलपरासीको कावासोती घटनामा स्थानीय प्रशासन र स्थानीयवासीबीच १० बुँदे सहमति भएको छ ।बिहीबार नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएपछि शुक्रबार कावासोती नगरपालिका कार्यालय रहेको आसपास क्षेत्र तनावग्रस्त भएको थियो ।शुक्रबार अपराह्न दुई पक्षबीच घटनास्थलमा मृतकको शिलालेख तयार गर्ने, मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने र रोजगारी पुस्तान्तरण गर्ने सहमति भएको छ ।त्यस्तै मृतकका परिवारलाई ५ लाख नगद र ५ लाख मुद्दती खातामा जम्मा गरिदिने, उनीहरूका बालबालिकालाई १२ कक्षासम्म शैक्षिक सामग्रीसहित पढाइको व्यवस्थापन गर्ने पनि सहमति भएको छ बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको थियो ।नाला पुरिएर भएको दुर्घटनामा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो । मृतकहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको छ ।घटनाको विषयमा आन्दोलनमा उत्रिएका स्थानीयवासीले पूर्वी नवलपरासीको कावासोती नगरपालिका कार्यालय र मेयर विष्णुप्रसाद भुषालको घरमा तोडफोड गरेका थिए ।घटनामा परेर ४ जना प्रहरी सामान्य घाइते भएका छन् । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।वर्षा लागेपछि काम सुरु गरेको, नगरपालिकाले उचित अनुगमन नगरेको तथा कार्यस्थलमा मजदुरको सुरक्षामा उचित ध्यान नदिएको भन्दै स्थानीयले बिहीबार राति नै नगरप्रमुख विष्णुप्रसाद भुषालको घर घेराउ गरेर नाराबाजी गरेका थिए ।कावासोती नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिलाको शोकमा आज बिदा दिने निर्णय गरेको थियो ।नगरपालिकाले ढल निकासका लागि वैशाख ३० गते सम्झौता गरेर उपभोक्ता समितिमार्फत कावासोतीको थाना चोकदेखि पूर्वतर्फ ढल निकासको काम अगाडि बढाएको थियो ।
