पोखरा । नेकपा माओवादी केन्द्रको सिफारिसमा गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले नेसपा नेता तथा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई कारबाही गरिएको जानकारी गराएका छन् ।धितालले शुक्रबारको प्रदेशसभा बैठकमा ह्वीप उलंघन गरेको कारण माओवादीको सिफारिसका आधारमा देवकोटामाथि कारबाही भएको पत्र प्राप्त भएको जानकारी गराएका हुन् । देवकोटामाथि कारबाही भएसँगै अब यो विषय अव सर्वोच्च अदालत पुग्ने पक्का छ । देवकोटा सर्वोच्च जाने तयारी गरिरहेका छन् । अब धेरैको चासो छ, गण्डकी सरकारको अवस्था के हुन्छ ? ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते ३१ सांसदको समर्थन पाएका थिए । विश्वासको मत पाउन ३१ सीट अनिवार्य छ । अब देवकोटाको निलम्बनले प्रदेशसभामा ५९ सांसद कायम भएको छ । पुनः पाण्डेले विश्वासको मत ३० दिनभित्र लिनुपर्छ । तर बहुमतका लागि ३० सीट भए पुग्छ । निलम्बनपछि सांसद संख्या ५९ भएको र त्यसको बहुमत ३० हुने व्यवस्था छ । पाण्डेले विश्वासको मत लिँदा अहिलेका समर्थकहरु एकै ठाउँमा रहे उनले विश्वासको मत पाउँछन् । उनलाई राप्रपाका २, स्वतन्त्र सांसद १ र फणीन्द्रले मत दिएका थिए । यही गठबन्धन कायम रहे उनको सरकार ढल्दैन । यदि तलमाथि भए पाण्डे सरकार ढल्छ र संविधानको धारा १६८ (५) बमोजिम सरकार गठन हुन्छ । उक्त उपधारामा बहुमत जुटाउन सक्ने जुनसुकै सांसदले मुख्यमन्त्री दावी गर्न सक्छन् ।
