दाङ- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महरासँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हेम्डीले भेटघाट गरेकी छन्।मुख्यमन्त्री कार्यालय दाङको देउखुरीमा भएको भेटघाटमा मुख्यमन्त्री महराले संयुक्त राष्ट्रसंघले नेपालमा गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताए ।उनले अनमिनले नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नेपालको दिगो विकासमा संयुक्त राष्ट्र संघले गरेका कार्यक्रमहरू उत्कृष्ट र सन्तोषजनक रहेको जानकारी दिए।लुम्बिनी प्रदेश सरकारले प्रविधिको माध्यमबाट यहाँको कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधार र सांस्कृतिक क्षेत्रहरूमा विकास गर्न खोजेको कुरा मुख्यमन्त्री महराले बताए।उनले नेपालका भूमिहीन, सुकुम्बासी र असहायको पक्षमा प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने प्रयास गरेको भन्दै सहकार्यका लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरे।नेपालमा सीमान्तकृत, गरिब र असहायका पक्षमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले नतिजामुखी कामहरू गरिरहेको र बाढी, पहिरो र आगलागीले पनि नेपालमा ठुलो क्षति पुर्याएकाे जानकारी दिँदै मुख्यमन्त्री महाराले संयुक्त राष्ट्रसंघसँग सहकार्यको अपेक्षा रहेको बताए।नेपालमा ग्रामिण क्षेत्रबाट सहरमा मानिसहरूको बसाइँसराइ तीव्ररूपमा हुने गरेकाले लुम्बिनी प्रदेशका १०९ पालिकामा वातावरणमैत्री, हरियाली १०९ वटा आधुनिक सहरको योजना निर्माण गरि कामहरू अगाडि बढाउने प्रक्रियामा लुम्बिनी प्रदेश सरकार रहेकाले संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न चाहेको धारणा राखे।लुम्बिनी प्रदेशको मानव विकास र भौतिक पूर्वाधारको क्षेत्रमा प्रदेश सरकारले थालनी गरेको बताउँदै मुख्यमन्त्री महाराले जनताको आयआर्जन र कृषिक्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर कार्यक्रमहरू निर्माण गरिएको बताए।भेटघाट कार्यक्रममा संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हेम्डीले संयुक्त राष्ट्रसंघ (युएन) को शान्ति मिसनमा नेपाली सैनिकहरूको मूल्यांकन उच्च रहेको भन्दै नेपाली महिला सैनिकहरूको सहभागितामा १ नम्बरमा रहेको बताइन्।उनले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्तकमैया र सुकुम्बासीका विषयमा नेपालको संविधान विश्वमा उत्कृष्ट रहेको भन्दै उनीहरूको जीवनस्तरमाथि उकास्नका लागि प्रदेश सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव मुख्यमन्त्री महरालाई दिइन्।
