काठमाडौँ । कहीँ कतैबाट पनि घुस नखाने र कसैले पनि पैसा नउठाएको बताउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछाने र उनका पार्टीका नेताहरुको भनाइ सत्य सावित भएको छैन । काठमाडौँ जिल्ला अदालतले रास्वपाको कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठ सम्बन्धी मुद्दामा फैसला सुनाएपछि सत्य सावित नभएको हो ।रास्वपाको तर्फबाट महामन्त्री मुकुल ढकालले जनआस्था पत्रिकासहित पाँच जनाविरुद्ध अदालतमा २०८० जेठ १४ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा न्यायाधीश पदमराज पाण्डेयको इजलासले अन्तिम फैसला सुनाउँदै दाबी नपुग्ने फैसला सुनाएको हो । दुई करोड घुस मागेको अडियो टेप प्रकरणमा मुछिएका रवि लामिछानेको पार्टीका सांसद श्रेष्ठलाई कारबाही गरिएको थियो । उनलाई रास्वपाले सदस्यबाट निष्काशन गरेपछि उनको सांसद पद स्वतः खारेज भएको थियो । उक्त प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गम्भीरतापूर्वक हेरिरहेको बताइए पनि अहिलेसम्म कारबाहीको कुनै प्रकृया अघि बढेको छैन । भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ मा राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले ‘रिसवत लिएमा वा लिन मन्जुर गरेमा ‘कैद र बिगो बमोजिम जरिबाना हुने उल्लेख गरिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेकर्ड गरिएको आवाजको परीक्षण गर्ने र पुष्टि भएपछि थप अनुसन्धान गर्न सक्ने बताएको थियो । सजाय हुने कसूर गर्न दुरुत्साहन दिने व्यक्तिलाई अन्य व्यक्ति वा राष्ट्र सेवकभन्दा आधा सजाय हुने व्यवस्था कानूनी व्यवस्था छ । उक्त व्यवस्थाका कारण सार्वजनिक ओहदामा नरहेका व्यक्ति पनि दण्डित हुन सक्छन् ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ घुस मागेको सम्बन्धी अडियो विवादमा श्रेष्ठले जनआस्था साप्ताहिकमार्फत दिएको अभिव्यक्ति निराधार, कपोलकल्पित, एवं भ्रामक भएको जिकिरसहित मुकुलले मुद्दा दायर गरेका थिए । त्यतिबेला श्रेष्ठले घुस बार्गेनिङ गराउन ढकालसहितको भूमिका रहेको जिकिर सञ्चारमाध्यममार्फत गरेका थिए । ‘…सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार छापिएकोमा मेरो गम्भीर गाली बेइज्जती हुँदै क्षति भएको छ’ उनको मुद्दामा भनिएको थियो ‘यसले म र हाम्रो पार्टीको मान, प्रतिष्ठा र इज्जतलाई धमिल्याउनको लागि पत्रिकामार्फत सार्वजनिक गरिएको षड्यन्त्र गरेकाले त्यसको क्षतिपूर्ति पाउनुपर्ने देखिन्छ ।’ उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गरेका थिए । अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने घोषणा गरेर ढकालले क्षणिक रुपमा चर्चामा आउने कोसिस गरेका थिए । रास्वपाभित्र श्रेष्ठलाई कारवाही भैरहँदा भने सभापति लामिछानेलाई भने सहकारी ठगी प्रकरणमा उन्मुक्ति दिइएको छ । रवि लामिछाने सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी सहकारीबाट ऋण लिएर गोर्खा मिडियामा लगानी गरेको आरोपमा मुछिएका छन् । उनकै विषयमा अहिले संसदीय छानबिन समितिमा छानबिन चलिरहेको छ । त्यसैगरी सभापति लामिछानेकी पत्नी निकिता पौडेल सत्यसाई सहकारीमा जोडिएकी छिन् भने उपसभापति डीपी अर्याल र कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा जोडिएका छन् ।
