सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन्। उनले नेपाल पूर्वीय दर्शनमा अडिएको समाज भएकाले टिकटकजस्ता सामाजिक सञ्जाल समाजअनुकूल हुने गरीमात्र चलाउनुपर्ने बताइन्।बिहीवार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन्।उनले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन्।उनले नियम कानूनको पालना गर्नेहरुले टिकट चलाउन नहुने बताइन्।उनले सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताइन्।सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गई व्यापक छलफल हुने विश्वास व्यक्त गरिन्।उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमँ दर्ता गर्ने प्रक्रियामा रहेको बताइन्।मन्त्री शर्माले नेपालका कानूनहरु, नेपालको समाजको महत्व आफ्नै भएकाले सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरु आउँछन् भने आपत्ति नरहेको बताइन्।टिकटक नाममा समस्या नभई कन्टेन्टमा समस्या रहेको भन्दै नेपालको नियम कानुन र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भई स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने बताइन्।उनले भनिन्, ‘हामीले टिकटक, क्याबिनटेबाट नै निर्णय गरेर बन्द गरेका हौँ । अहिले यो कानूनी रुपमा भन्ने हो भने बन्दकै अवस्थामा छ । हामीले बन्द त्यो बेलामा सामाजिक मूल्य मान्यता भन्दा धेरै बढी भएको थियो । त्यसकारण त्यसलाई बन्द गरेर गएका हौँ । अहिले पनि हाम्रो एनटिसी लगायतका ठूला सेवा प्रदायकबाट यो खुलिरहेको छैन । तर पनि कसैले भिपिएन र साना इन्टरनेट सेवा प्रदायकबाट पनि भइरहेको छ । हामीले नियम कानून पालना गर्ने र गराउने ठाउँमा छौँ, हामीले प्रयोग गर्नु हुँदैन । कुनै आग्रह, पूर्वाग्रह भएर भन्दा पनि त्यसलाई पूर्वीय दर्शनमा अडिएको हाम्रो परिवार र समाज हो । त्यस कारणले हाम्रो समाजअनुकुल हुनेगरी प्रयोग गर्नुपर्छ ।’उनले सामाजिक सञ्जाल सम्बन्धी विधेयक क्याबिनेटमा गएको उल्लेख गर्दै आगामी मन्त्रिपरिषद्को बैठकमा सामाजिक सञ्जाल सम्बन्धी विधेयक छलफल हुने बताइन्। ‘त्यो विधेयक समितिमा जान्छ र सम्भवतः संसदको समितिमा आइपुग्दासम्म हामी व्यापक छलफल हुनेछ। नेपाल सरकारको यी विषयमा कुनै कानुन थिए । हामीले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी गर्यौँ। अहिले सामाजिक सञ्जाल विधेयक हामीले संसदमा दर्ता गर्ने प्रक्रियामा छौँ । यो गर्दै गर्दा सबै विषयमा हामीले छलफल गर्नुपर्छ । नेपालका कानूनहरु, नेपालको समाजको महत्व आफ्नै छ । यो सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरु आउँछन् भने टिकटक लगायत कसैसँग पनि आपत्ति छैन।’उनले टिकटक नाममा समस्या नभए पनि त्यसले दिने कन्टेन्टमा स्वनियमनको व्यवस्था नभएको उल्लेख गर्दै स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेको बताइन्। ‘हामीले फेसबुक सञ्चालकहरुसँग भेटेका छौँ । उहाँहरुसँग हामीले उहाँहरुलाई नेपालको नियम कानून र सोसल भ्याल्युलाई सबैले मान्नुपर्छ भनेका छौँ । यहाँ दर्ता भएको हुनुपर्छ । अहिलेसम्म कुनैपनि सामाजिक सञ्जाल दर्ता भएको थिएन । दर्ता भएर राम्रोसँग चलाउनु पर्छ । हामीले कानूनी दायरामा ल्याउने प्रयत्न गरेका हौँ.’ उनले भनिन्।उनले राजनीतिक रुपमा प्राप्त उपलब्धि र सामाजिक चेतनाको बीचमा अन्तरबिरोध भएको बताइन्। उनले राजनीतिक व्यवस्थाअनुरुपको सामाजिक चेतना कसरी निर्माण गर्ने ? भन्ने विषयमा राज्यको नेतृत्वदायी भुमिका हुन जरुरी रहेको बताइन्।
