मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेअनुसार पश्चिम तराईमा आज पनि तातो हावा चल्नेछ।महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गरी पश्चिम तराईमा तीन दिन तातो हावा चल्ने चेतावनी दिएको थियो।बीचमा सामान्य घटेको तापक्रम केही दिनदेखि फेरि बढ्न थालेको छ। केही दिनदेखि पश्चिम तराईका भूभागहरुमा तापक्रम ४० देखि झन्डै ४४ डिग्री सेल्सियससम्म पुगेको छ।बुधबार सबैभन्दा बढी तापक्रम धनगढीमा ४३.९ डिग्री सेल्सियस मापन भएको छ।नेपालगन्जमा ४२.२ डिग्री सेल्सियस पुगेको थियो। नेपालगन्जमा न्यूनतम तापक्रम नै २९ डिग्री सेल्सियम मापन भएको थियो। त्यसको तुलनामा धनगढीको न्यूनतम तापक्रम २५.६ डिग्री सेल्सियस मापन भएको थियो।बुधबार दिपायलमा ४०.८ डिग्री सेल्सियस, विरेन्द्रनगरमा ४१.१ डिग्री सेल्सियस, भैरहवामा ४०.४ डिग्री सेल्सियस, घोराहीमा ३९.५ डिग्री सेल्सियस, जनकपुरमा ३७.८ डिग्री सेल्सियस मापन भएको थियो।मौसमविद बिनु महर्जनले बिहीबार पनि लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागहरुमा तापक्रम उच्च रहने पूर्वानुमान रहेको जानकारी दिइन्।काठमाडौंमा पनि आज तापक्रम उच्च रहनेछ। बुधबार काठमाडौंको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस पुगेको थियो।‘आज पनि सोही हाराहारीमा रहने देखिएको छ,’ उनले भनिन्।अपराह्नतिर भने काठमाडौं उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको उनले बताइन्।पश्चिम तराईका भूभागहरुमा भने तत्काल वर्षा हुने सम्भावना देखिएको छैन।२७ गते नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले पनि सूदुरपूर्वी भूभागहरूमा मात्रै छ।मनसुन पूर्वी भूभागबाट भित्रने र देशभरी फैलिनका लागि हावा पनि पूर्वबाट पश्चिमतिर बहनुपर्छ। अर्थात पश्चिमी वायुलाई विस्थापित गर्नुपर्छ, पश्चिमी वायु कमजोर हुनुपर्छ।अहिले पश्चिमी वायु सक्रिय नै भएकाले मनसुन फैलिएको छैन।‘मनसुनको प्रभाव सुदूरपूर्वी भूभागहरुमा मात्रै छ अहिलेपनि। पानी त्यहाँ मात्र परिरहेको छ। तर अन्यत्र पनि विस्तारै बादलहरू बढ्ने क्रम सुरू भएको छ,’ मौसमविद महर्जनले भनिन्।पछिल्लो २४ घन्टामा धनकुटाको मछुवाघाटमा ४५ मिलिमिटर, त्रिवेणीमा ३० मिलिमिटर र सप्तकोशीको चतरामा २३.५ मिलिमिटर वर्षा भएको छ।पोखरामा ४१.८ मिलमिटर, स्याङ्जामा १० मिलिमिटर र सिन्धुलीमा ३८ मिलिमिटर पानी परेको छ।
