काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आँपको गुणस्तर कायम गर्नका लागि मध्य बिहान र बेलुकीपख आँप टिप्न सुझाव दिएको छ । नार्कले सार्वजनिक गरेको कृषि–मौसम सल्लाह बुलेटिन अनुसार धेरै बिहान आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य बिहान र बेलुकीपख मात्र टिप्न सुझाव दिइएको हो । नेपाली बजारमा हालको समय स्वदेशी उत्पादन आउने समय हो । आँपको फल टिप्दा चोटपटक लागेर हुने नोक्सानी न्यूनीकरण गर्न पोल हार्वेस्टरको प्रयोग गर्न समेत सो बुलेटिनमा सुझाव छ । फल टिपेलगत्तै सफा पानीले भेट्नोबाट आएको चोप सफा गर्न नार्कले भनेको छ । यस्तै, बगैँचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरूबाट विभिन्न रोग तथा कीराहरू सर्ने सम्भावना हुने भएकोले झरेका दानाहरूलाई टिपेर नष्ट नार्कको सुझाव छ ।
