काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । धनुषा, ओखलढुङ्गा र झापामा भएका सवारी दुर्घटनामा जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार धनुषाको सबैला नगरपालिका–९ कलुवामोडमा मे.१ त ९३५५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने मनोज मण्डलको छोरा ३ वर्षीय डेभिड मण्डलको आइतबार राति मृत्यु भएको छ । घर अगाडि खेल्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको गोदावरी हस्पिटल जनकपुर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै झापाको दमक नगरपालिका–३ मावापुलस्थित सडकमा मे ५ प ९७३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–१ घर भएका २२ वर्षीय सगुन राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल खरखरे दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।उता, ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–८ माम्खास्थित सडकबाट बाग्मती प्रदेश–०२– ०१६ प ८५३२ नम्बरको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।आइतबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ रातमाटे मझुवा बस्ने ३५ वर्षीय हस्तबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।
