धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
मुख्यमन्त्री सोडारीले एमाले, माओवादी र स्वतन्त्र एक सांसदलाई मन्त्री बनाउने तयारी गर्दै आज सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले आज नै मन्त्री मण्डल पूर्णता दिने गरी छलफल अगाडि बढेको जानकारी दिए ।उनका अनुसार एमाले र माओवादीबाट मन्त्री हुनेको नाम पनि टुङ्गो लागि सकेको छ । एमालेबाट सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीको नाम सिफारिस गरिएको छ । यता माओवादीबाट अक्कल रावल, ओमविक्रम भाट, र लक्ष्मी विकको नाम सिफारिस गरिएको हो ।
तर, अर्थ मन्त्रालयमा माओवादी र एमाले दुवैले दाबी गरेपछि कुरो मिल्न नसकेको उनको भनाइ छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भागबन्डा पु¥याउन मन्त्रालय फुटाएर भए पनि मन्त्रीमण्डल विस्तारको तयारीमा लागेका छन् ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय फुटाएर तीन वटा नयाँ मन्त्रालय बनाउने तयारी गरिएको छ ।
यहाँको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर सहरी, ऊर्जा खानेपानी तथा सिँचाइ मन्त्रालय बनाउने, सामाजिक विकास फुटाएर शिक्षा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य मन्त्रालय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर वन, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग, पर्यटन मन्त्रालय बनाउने तयारी गरेको छ ।
त्यसका लागि मन्त्रिपरिषद्को बैठक बसेर सुदूरपश्चिम प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ लाई संशोधन गर्ने गरी मस्यौदा बनेको स्रोतको दाबी छ । यस अघि सुदूरपश्चिम सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा टीका थापा र भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी रहेका छन् ।