काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको आइतबार अन्तिम बहस सुरु हुँदैछ । शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ नसकिएपछि आइतबारका लागि पेसी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। आज उक्त मुद्दामा सरकारी पक्ष र विपक्षीहरूले बहस गर्नेछन् । महान्यायाधिवक्ता कार्यालयबाट नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरेले बहस गर्दैछन्। उनीपछि अशोक राईका कानुन व्यवसायीले बहस गर्नेछन्। शुक्रबार यादवका तर्फबाट बहसको सुरुवात भएको थियो । यादव पक्षको तर्क सुनेपछि सरकारी पक्षलाई बहसको समय दिइएको थियो । अशोक राई लगायतको पक्षले समेत बहस गर्न बाँकी भएकाले मुद्दा हेर्दाहेर्दै राखिएको थियो । त्यहीबाट सुनुवाइ सुरु गर्ने तयारी सर्वोच्चको छ। जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।त्यस्तै आफ्नो दल छाडेर जाने सात सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए । दुवै रिटलाई सँगै राखेर हेर्ने गरी इजलास तोकिए पनि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् । यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।पहिलो सुनुवाइमा उक्त आदेश जारी भएपनि राई पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो । तर दलको रूपमा काम गर्न भने अदालतको आदेशले रोकिएको छ। सर्वोच्चले आज सुनाउने आदेशले नयाँ दलबारे निर्णय गर्नेछ।
