विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोग कोशी प्रदेशको गाडीमा विद्यार्थीहरूले आगजनी गरेका छन् । उनीहरूले आज बिहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् । मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी)माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थीहरू शुक्रबारदेखि आन्दोलित रहेका छन् । पक्राउ परेको समूहले आफू विद्यार्थी रहेको र निजी विद्यालयहरुले आफूखुसी कानुन विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाए भन्दै जेष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको थिए । उनीहरुले यसअघि विराटनगरको रोडशेष चोकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । पक्राउ परेका यादवसहितको टोलीलाई बिना शर्त रिहाई नगरे थप आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।पक्राउ पर्ने विद्यार्थीहरूमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन् ।प्रदेश योजना आयोगका उपाध्यक्ष राजेन्द्र अधिकारी चढेको गाडीमा आगो लगाएका हुन् । आयोग उपाध्यक्ष अधिकारीलाई गाडीको सिसा फोडिँदा सामान्य चोटपटक लागेको छ।
