जनकपुरधाम- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहसहिक केही मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नियुक्त भएका मुख्यमन्त्रीसहितका केही मन्त्रीहरूको शपथ ग्रहणको कार्यक्रम आज १२ बजेका लागि निर्धारण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।मधेस सरकारमा दावी गर्न शुक्रबार बिहान १० बजे अन्तिम समय रहेकोमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सिंहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।हाल १०६ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।सिंहले ५५ सांसदको समर्थनसहित प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष मुख्यमन्त्रीमा दावी गरेका हुन्।बिहीबार नै मुख्यमन्त्रीमा दावी पेस गर्ने तयारी भएपनि दलहरूबीच मन्त्रालय भागबण्डा नमिल्दा आज मात्र दावी गरिएको हो।मन्त्रालय बाँडफाटका लागि बिहीबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा राति मात्र सहमति भएको थियो ।सहमतिअनुसार एमालेले भौतिक पूर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण गरी चारवटा मन्त्रालय पाएको छ।यस्तै, जनमतले मुख्यमन्त्रीसहित तत्काल वन तथा वातावरण मन्त्रालय मात्रै पाएको छ। उसले थप एउटा मन्त्रालय पछि पाउने सहमति छ।यस्तै, माओवादीले अर्थ र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय पाएकाे छ भने एकीकृत समाजवादीले भूमि व्यवस्था कृषि तथा सहकारी र ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालाय पाएको छ।यस्तै, एक।एकजना सांसद रहेको नागरिक उन्मुक्तिले श्रम तथा यातायात र नेपाल संघीय समाजवादीले गृह तथा सञ्चार मन्त्रालय पाउने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए।मधेस प्रदेशमा अहिले ११ वटा मन्त्रालय छ।
