काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणअन्तर्गत बिहीबार राति खेलिएको खेलमा अप्रत्याशित नतिजा आयो । उक्त खेलमा आयोजक राष्ट्र अमेरिकाले बलियो टेस्ट राष्ट्र पाकिस्तानलाई ‘सुपर ओभर’ मा हरायो । टी–२० विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले पाकिस्तानलाई हराएको यो पहिलो पटक हो । खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले पनि निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ५९ रन नै बनायो । त्यसपछि खेल ‘सुपर ओभर’ मा गयो । ‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको अमेरिकाले एक विकेट गुमाएर १८ रन बनायो ।जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने ‘सुपर ओभर’ मा एक ओभर गुमाएर १३ रनमात्र बनाउन सक्यो । ‘सुपर ओभर’ मा अमेरिकाको जितमा नायक बने, सौरभ नेत्रवाल्कर । उनकै कसिलो बलिङका कारण अमेरिकाको जित सम्भव भएको थियो ।त्यसअघि निर्धारित ओभरको खेलमा पनि उनले पाकिस्तानको तीन विकेट लिएका थिए । आखिर को हुन् त सौरभ नेत्रवाल्कर ? खासमा बायाँ हाते मध्यम तेज गतिका बलर नेत्रवाल्कर भारतीय मूलका खेलाडी हुन् । ३२ वर्षीय नेत्रवाल्कर पछि अमेरिकामा बसाई सरेका हुन् ।नेत्रवाल्करले आजभन्दा १४ वर्षअघि पनि अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । सन् २०१० को आईसीसी यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । त्यतिबेला नेत्रवाल्कर भारतीय टोलीका महत्त्वपूर्ण सदस्य थिए ।त्यो विश्वकपमा भारत र पाकिस्तानबिच क्वार्टरफाइनलमा भेट भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले नौ विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानविरुद्ध भारतीय खेलाडी नेत्रवाल्करले उत्कृष्ट बलिङ गरेका थिए ।उनले पाँच ओभरमा एक मेडन राख्दै केवल १६ रन खर्चिएर एक विकेट लिएका थिए । यद्यपि, उक्त खेलमा पाकिस्तानले भारतलाई दुई विकेटले हराएको थियो । पाकिस्तानका वर्तमान कप्तान बाबर आजम त्यतिबेला पनि पाकिस्तानी टोलीका महत्त्वपूर्ण सदस्य थिए । त्यतिबेला भारतीय टोलीमा भने केएल राहुल, मयाङ्क अग्रवाललगायतका खेलाडी सहभागी थिए ।नेत्रवाल्करको जन्म भारतको मुम्बईमा भएको हो । उनले मुम्बईकै टोलीबाट सन् २०१३/१४ सिजनको रणजी ट्रफी खेल्दै प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । यसका अतिरिक्त उनले सन् २०१३/१३ सिजनमै मुम्बईको तर्फबाट विजय हजारे ट्रफी खेल्दै ‘लिस्ट ए’ क्रिकेटमा पनि ‘डेब्यू’ गरेका थिए ।नेत्रवाल्कर सफ्टवेयर इन्जिनियर पनि हुन् । उनले सरदार पटेल इन्स्टिच्यूट अफ टेक्नोलोजीमा अध्ययन गरेका थिए । उच्च शिक्षा पुरा गरेपछि उनी अवसरको खोजीमा अमेरिका पुगेका थिए । सन् २०१८ मा उनी पहिलो पटक अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका थिए ।त्यसपछि उनी अमेरिकी टोलीको प्रतिनिधित्व गर्दै वेस्ट इन्डिज पुगेका थिए । सन् २०१८/१९ मा उनी आईसीसी आईसीसी टी–२० विश्वकपको अमेरिकी क्षेत्रको छनोट प्रतियोगिता खेल्न पनि राष्ट्रिय टोलीमा परेका थिए । यसैगरी सन् २०१८ को अक्टोबरमा उनी अमेरिकी राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका थिए । उनले कप्तानको भूमिकामा वेस्ट इन्डिजमा रिजनल सुपर–५० प्रतियोगिता र सन् २०१८ को आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ प्रतियोगिता पनि खेलेका थिए ।सन् २०१९ को फेब्रुअरीमा उनले अमेरिकाको टी–२० राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका थिए । कप्तानको भूमिकामा उनले युएईविरुद्धको टी–२० शृंखला खेलेका थिए । अमेरिकी टोलीले खेलेको त्यो नै पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।यसदेखि वाहेक पनि उनले कप्तानको भूमिकामा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । अमेरिकाले आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको मान्यता पाउँदा पनि उनी टोलीको कप्तान थिए । उनले सन् २०१९ को अप्रिल २७ मा पपुवा न्यु गिनीविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।उनको क्षमता पहिचान गर्न र अगाडि बढाउन प्रशिक्षक पुबुदु दासानायकेको पनि निकै ठुलो योगदान रहेको छ । दासानायके सन् २०१६ देखि सन् २०१९ सम्म अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक थिए । दासानायके सन् २०११ देखि सन् २०१५ सम्म नेपाली राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेपछि अमेरिका पुगेका थिए ।टी–२० विश्वकपको पाकिस्तानविरुद्धको खेलमा उत्कृष्ट बलिङ गर्दै अमेरिकालाई विजयी बनाएपछि एकाएक उनको चर्चा चुलिएको छ । अमेरिकाले टी–२० विश्वकपको आफ्नो पहिलो सहभागितामै ‘सुपर–८’ चरणको सम्भावना पनि बलियो बनाएको छ ।
