काठमाडौं – ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ। बिहीवार ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियानको शुभारम्भ गरे। शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख चिरीबाबु महर्जनले घरघरमा नगरप्रहरी अभियानका बहुआयामिक फाइदा रहेको बताए।यस अभियानले जनप्रतिनिधिहरू चुनावको निमित्त भोट माग्न मात्रै घरमा पुग्ने र त्यसपछि हराउने भन्ने जनताको गुनासो सम्बोधन हुने उनले जानकारी दिए। उनले नागरिकहरूले दुःखका कुराहरू नगरप्रहरीमार्फत जनप्रतिनिधिहरूलाई सुनाउन सक्ने उल्लेख गरे। नगर प्रहरीको उदाहरणीय कदमले नगरवासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने उनको विश्वास छ। यस योजनाअन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिनेछन् ।उनले भने, ‘घरघरमा नगरप्रहरी भन्नासाथ यसका बहुआयामिक फाइदा छन्। धेरै आयामहरू छन्।अब हामी जनप्रतिनिधिहरू चुनावको निमित्त घरमाभोट माग्न आउने त्यसपछि हराउने भन्ने आरोप पनि हराउनेछ। भेटेर सुखदुःखका कुराहरू भन्न नपाउँदै गर्दा नगरप्रहरीसँग समन्वय गरेर ती कुराहरू उहाँहरूले व्यक्त गर्न सक्नुहुनेछ। यो विषयमा प्रत्येक हप्ता म ब्रिफिङ लिनेछु। ’प्रमुख महर्जनले आफूले हरेक हप्ताको एक दिन नागरिकहरूको गुनासा र सुझावहरूबारेमा बिफ्रिङ लिने बताए।
