काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् पुनर्गठनको विषयमा सत्ता साझेदार दलहरूबिच परामर्श थालेका छन् । सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई समेटर मन्त्रीपरिषद् पुनर्गठन गर्ने लगायत विषयमा सत्ता घटक दलहरूसँग परामर्श गरेका हुन् ।उनले केही दिन यता एमालेका अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग लगातार भेटवार्ता गरिरहेका छन् । भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद् पुनर्गठन, मधेस सरकार गठन, सुदूरपश्चिम सरकार विस्तार लगायत संसद्को काम कारबाहीबारे छलफल भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।यी सबै विषयमा शीर्ष नेताहरूबिच लगातार छलफल भए पनि कुनै निष्कर्ष नआएको उनले जानकारी दिए । ‘सरकारलाई समर्थन गरेका दलहरू नाउपा, जपालाई सरकारमा ल्याउन पहल भइरहेको छ । मधेस सरकार गठन, सुदूरपश्चिम सरकार विस्तार, संसद्को कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो तर निष्कर्षमा पुगेका छैनौँ’, रातोपाटीसँग उनले भने ।नाउपा र जपालाई कुन कुन मन्त्रालय दिने भन्ने विषयमा कुनै सहमति नभएको बर्तौलाले बताए । मधेस सरकार गठनको विषयमा सहमति जुटेपछि एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ ।यसै विषयमा सहमति जुटाउन प्रचण्डले शुक्रबार सत्ता साझेदार दलहरू एमालेका अध्यक्ष ओली, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठसँग छलफल गरेका थिए । आइतबार र सोमबार पनि उनले ओली र नेपालसँगको सम्वाद जारी राखे ।प्रचण्डले आइतबार ओली र नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । बिहान नेपालसँग छुट्टै भेटेका प्रचण्डले त्यसलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका सभापति शेरबहादुर देउवा, ओली र नेपालसँग भेटवार्ता गरेका थिए ।देउवासँगको भेट राजनीतिक सद्भावका रुपमा भएको बर्तौलाले दाबी गरे । सहकारी समस्या समाधानका लागि गठन भएको छानबिन समितिको काम कारबाही र संसद्को वातावरण सौहार्द्रपूर्ण बनाउन छलफल भएको बर्तौलाले बताए ।

पदाधिकारी बैठक बोलाउने तयारीमा प्रचण्ड
यता माओवादी पार्टीका कुनकुन मन्त्रीलाई फिर्ता बोलाउने भन्ने विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् । नाउपा र जनमतलाई एक/एक मन्त्रालय दिएर सरकारमा ल्याउने कुरामा गठबन्धन दलहरू सकारात्मक देखिए पनि आ–आफ्ना मन्त्रालय छोड्न एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादी तयार देखिएका छैनन् ।मन्त्रालय छोड्न सहयात्री दलहरू तयार नभए माओवादीका कुनै एक मन्त्रीलाई फिर्ता बोलाउने कि अर्थमन्त्री बाहेक सबै मन्त्रीलाई फिर्ता बोलाउने भन्ने विषयमा छलफल भइरहेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । यद्यपि ठोस निष्कर्षमा नपुगेको उनको भनाइ छ ।‘कुनै एक मन्त्रीलाई फिर्ता बोलाउने कि पूरै सेट परिवर्तन गर्ने भन्ने विषय छलफलमै छ । कुनै निष्कर्षमा पुगेको छैन । यसबारेमा पदाधिकारी बैठकले निर्णय गर्नेछ । मन्त्रीपरिषद् पुनर्गठनको विषयमा सत्ता साझेदार दलहरूबिच छलफल गरेरमात्र निष्कर्षमा पुगिन्छ’, उनले भने ।ऊर्जामन्त्री समेत रहेका उपमहासचिव शक्ति बस्नेतले मन्त्रीलाई फिर्ता बोलाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताए । ‘यसबारे आवश्यक निर्णय बैठकले गर्ला’, मन्त्री बस्नेतले भने ।सचिव दीनानाथ शर्माले मन्त्रीलाई फिर्ता बोलाउने विषय छलफलकै क्रममा रहेकाले तत्काल मन्त्रीपरिषद् पुनर्गठन नहुने जिकिर गरे । गठबन्धन दलहरूबिच सहमति भएपछि मात्र नाउपा र जपालाई सरकारमा ल्याउने विषयमा निष्कर्षमा पुगिने उनको भनाइ छ ।‘मन्त्रीलाई फिर्ता बेलाउने विषयमा सत्ता साझेदार दलहरूबिच छलफल भइरहेको छ । कुनै निष्कर्षमा पुगेको छैन’, शर्माले भने, ‘मधेस सरकार गठनमा सहमति जुटेपछि एउटा निष्कर्षमा पुगिएला । माओवादीबाट कुनकुन मन्त्रीलाई फिर्ता बोलाउने सम्बन्धमा बैठकले निर्णय गर्नेछ ।’अहिले माओवादीबाट सरकारमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङ छन् । पुन र तामाङबाहेक सबै पुरानै मन्त्री हुन् ।यस्तै सरकारमा सहभागी हुने विषयमा शुक्रबार प्रधानमन्त्रीलाई भेटेकी नाउपाकी अध्यक्ष श्रेष्ठले मन्त्रालयको विषयमा कुनै टुङ्गोमा नपुगेको बताइन् । ‘सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग दुई दिन अघि मेरो भेट भएको हो । कुन मन्त्रालय पाउने भन्ने विषयमा कुनै टुङ्गो लागेको छैन । जुनसुकै मन्त्रालय पनि हुन सक्छ’, उनले भनिन् ।मधेस, सुदूरपश्चिम लगायत विषयमा सरकारमा सहभागी दलहरूबिच सहमतिको प्रयास जारी रहेकाले एक हप्तामा सरकारमा सहभागी हुने श्रेष्ठले बताइन् ।
मधेस प्रदेशको मुख्यमन्त्री नपाए सरकारमा नजाने जपाको अडान
यस्तै मधेस प्रदेशको नेतृत्व दाबी गरेको जनमत पार्टीले आफ्नो सो माग सम्बोधन नभएसम्मसङ्घीय सरकारमा नजाने वरिष्ठ उपाध्यक्ष दीपक साहले जानकारी दिए ।‘हाम्रोे मुख्य ध्यान मधेस सरकारको नेतृत्वमा छ । मधेस सरकार गठनका लागि छलफल भइरहेको छ । तत्काल सङ्घीय सरकारमा जाने हाम्रो कुनै सोच छैन’, साहले भने, ‘मधेस सरकारको नेतृत्व नपाए हामी सङ्घीय सरकारमा जाँदैनौँ ।’यी दुवै दल यसअघि प्रचण्ड सरकारमा थिए । एमालेसहित पछिल्लो समीकरण बदलिएपछि सरकारबाट बाहिरिएका थिए । जेठ ७ गते प्रधानमन्त्रीलाई दुवै दलले विश्वासको मत दिएका थिए ।
प्याकैजमै सहमति खोज्न एकीकृत समाजवादीको अडान
प्रदेश सरकार गठनमा निर्णायक दल एकीकृत समाजवादीले समग्र प्याकेजमै सहमति खोजेकाले छलफल निष्कर्षविहीन भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेका छन् । तर अहिलेसम्म एकीकृत समाजवादी सरकारबाट फिर्ता भएको छैन ।उसले सुदूरपश्चिम सरकार विस्तार लगायत राजनीतिक नियुक्तिमा सहमति जुट्नुपर्ने अडान राख्दै आएको छ । सुदूरपश्चिमा दीर्घराज सोडारीलाई एमाले र माओवादीले विश्वासका मत दिए पनि दुवै दल सरकारमा सामेल छैनन् ।