हेटौंडा । बागमती प्रदेश सरकारले गठन गर्ने सीटीइभीटीका लागि कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाइएको छ । कार्यकारी निर्देशक नियुक्तिका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले आवेदन माग गरेको हो ।जेठ १७ गते सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि ७ दिनभित्र आवेदन पेस गर्न भनिएको थियो । मन्त्रालयले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को ऐन २०७५ र नियमावली २०८० बमोजिम स्थापना हुने प्रदेश प्रमुख कार्यकारी निर्देशकको नियुक्ति गर्नका लागि सूचना प्रकाशित भएको ७ दिन जेठ २३ गतेभित्र कार्यालय समयमा कागजातसहित निवेदन पेस गर्न सूचना जारी गरिएको थियो ।तर उक्त सूचना जारी भएको ६ दिनसम्म पनि कुनै निवेदन परेको छैन । मन्त्रालयका महाशाखा प्रमुख खुविराम अधिकारीका अनुसार हालसम्म कुनै पनि व्यक्तिले आवेदन पेस नगरेको र बुधबारसम्मको समयसीमा रहेकाले प्राप्त हुन सक्नेछ । आवेदन प्राप्त नभएको खण्डमा मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिको निर्णय अनुसार अघि बढाइने उनले बताए ।
