काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीले गिरिबन्दु टि स्टेटको जग्गा घोटालामा १० हजार करोडको काण्ड घटाएको आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुक मार्फत शाहले केपी ओलीको धज्जी उडाएका हुन् ।एमाले अध्यक्ष ओलीले भूमि सम्बन्धी ऐन २०२१ लाई संशोधन गरेर झापाका गिरिबन्दु टि स्टेटको ४ सय ४३ विघा बेचविखनको षडयन्त्र गरेका थिए । झापाका एक सांसदले ओलीलाई एक अर्ब रुपैयाँ अग्रिम घुस दिएको खुलाएका थिए । सोही विषय अहिले सर्वोच्च अदालतले अन्तिम किनारा लगाएपछि ओली अदालत प्रति नै गालीगलौचमा उत्रिएका छन् । एमाले अध्यक्ष ओलीले १० हजार करोडको काण्ड लुकाउन विभिन्न विषयलाई विषयन्तर गरेको उनको आरोप छ ।‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओली ज्यु । झापा गिरिबन्धु बैना लिनेहरुलाई ‘दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थम्याउनु भएछ । गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ नपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ शाहले लेखेका छन्,‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरी सडक बनाउन थाल्नु भएछ । अब देश बन्ने भएछ । आफ्ना कतुर्त लुकाउन र विषयान्तर गरेपनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धु पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’
