काठमाडौँ । भारतको सिक्किम विधानसभा निर्वाचनमा सत्तारुढ दल ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले ३२ मध्ये ३१ सिटमा विजय प्राप्त गर्दा विपक्षी कित्ताबाट एकमात्र विधायकको प्रतिनिधित्व भएको छ । विधानसभामा विपक्षी भूमिकामा तेन्जिङ नोर्बु लाम्था देखिने छन् । उनको एक्लो काँधमा विपक्षी भूमिका रहने भएको हो ।पूर्वमुख्यमन्त्री पवन चाम्लिङको दल ‘सिक्किम डेमोक्रेटिक फ्रन्ट’बाट निर्वाचित लाम्था सिङ्गो विधानसभाको विपक्षी कित्तामा बस्ने एकमात्र विधायक हुनेछन् । उनले निकटतम प्रतिस्पर्धी सिक्किम क्रान्तिकारी मोर्चाका कुङ्गा नीमा लेप्चालाई एक हजार ३१४ मतले पराजित गरेका हुन् ।राज्यभर सिक्किम क्रान्तिकारी मोर्चाको पक्षमा लहर देखिएको बेलामा पनि लाम्थाले सोही दलका उम्मेदवारलाई झिनो मतान्तरले पराजित गर्न सफलता पाए । राजनीतिमा आउनु अघि लाम्था सरकारी कर्मचारी थिए । उनले सरकारी जागिर छाडेर राजनीतिक जीवन सुरु गरेका हुन् ।बुबा कुन्जाङ्ग नामग्याल लाम्था र आमादेन लामु लाम्थाको कोखबाट जन्मिएका ४९ वर्षीय तेन्जिङ नोर्बु लाम्थाले दिल्ली पूरा इन्स्टीच्यूट अफ टेक्नोलोजीबाट इन्जिनियरिङमा डिप्लोमा गरेका छन् । उनले सन् १९९२ मा सिक्किमको सडक र पुल विभागमा जुनियर इन्जिनियरका रुपमा काम थालेका थिए ।सन् २०१८ मा उनले सरकारी जागिर छाडेर राजनीतिक जीवन सुरु गरेका हुन् । उनले राजनीति गर्नका लागि सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीलाई चुने । सन् २०२४ को विधानसभा निर्वाचनमा उनले श्यारी विधानसभा सिटबाट उम्मेदवारी दिएका थिए । उनको कुल घोषित सम्पत्ति ५८.३ करोड भारु बराबर रहेको बताइन्छ, जसमा १.२ करोड रुपैयाँको चल र ५७.१ करोड रुपैयाँको अचल सम्पत्ति रहेको जनाइएको छ । सिक्किममा ‘सिक्किम क्रान्तिकारी मोर्चा’का नेता प्रेमसिंह तामाङ मुख्यमन्त्रीमा दोहोरिने भएका छन् । आफ्नो पार्टीको प्रचण्ड जितपछि उनले दोस्रो कार्यकाल सुरु गर्ने भएका हुन् ।सन् २०१९ मा उनले २४ वर्षदेखि सत्तामा रहँदै आएका पवन चाम्लिङलाई विस्थापित गर्दै राज्य सरकारको नेतृत्व सम्हालेका थिए । तामाङले सन् २०१३ मा पूर्वमुख्यमन्त्री चाम्लिङको पार्टी ‘सिक्किम डेमोक्रेटिक फ्रन्ट’मा विद्रोह गरेर ‘सिक्किम क्रान्तिकारी मोर्चा’ गठन गरेका थिए ।त्यसको अर्को वर्ष भएको निर्वाचनमा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले विधानसभाका ३२ मध्ये १० सिटमा जित हासिल गरेको थियो । यो निर्वाचनमा विधानसभाका ३२ मध्ये उनको पार्टीले ३१ सिट जितेको छ ।
