काठमाडौँ । म्यानमारस्थित नेपाली राजदूतावासले ‘नेपाल–म्यानमार ट्रेड रिसेलसनः प्रमोटिङ सफ्टवेयर बिजनेस’ कार्यक्रम सम्पन्न गरेको छ । याङ्गुनको टट्रिअम होटलमा आयोजित कार्यक्रमको उद्देश्य नेपालको उदीयमान सूचना प्रविधि क्षेत्र, सफ्टवेयरको विकास र डिजिटल सेवा नेपालबाट म्यान्मार निर्यातका लागि सम्भावित क्षेत्र पहिचान गर्ने र दुई देशका व्यापारीबिच सम्बन्ध स्थापित गर्नु हो ।एक दिने उक्त कार्यक्रममा नेपाली राजदूत, याङ्गुन क्षेत्रका मुख्यमन्त्री, म्यानमार फेडेरेसन अफ कमर्स एण्ड इन्डस्ट्री लगायतको उपस्थिती थियो । यस्तै म्यानमारका केन्द्रीय बैंकका उप–गभर्नर, म्यानमार डिजिटल इकोनोमी एसोसिएसन (एमडीईए) द्वारा म्यानमारको डिजिटल सेवाहरू र सूचना प्रविधिबारे प्रस्तुतीकरण रहेको थियो ।कार्यक्रममा फिनटेक अलायन्स नेपालका प्रतिनिधिद्धारा नेपालको सूचना प्रविधि क्षेत्रमा हालमा भएको विकासबारे प्रकाश पारिएको जनाइएको छ । नेपाली आईटी कम्पनीहरूले उपलब्ध गराउँदै आएका विभिन्न सेवाहरूको संक्षिप्त विवरण तथा कार्यक्रममा सहभागी नेपाली आईटी कम्पनीहरूको संक्षिप्त परिचय तथा उक्त कम्पनीहरुले प्रदान गर्ने सेवाहरुको विवरण प्रस्तुत गरिएको थियो ।कार्यक्रममा म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले नेपालको सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराए । नेपालको आईटी उत्पादन र सेवाको परिपक्वताको प्रशंसा गर्दै उनले नेपालको बैंकिङ र फिनटेक क्षेत्रहरू आन्तरिक रूपमा विकसित तथा पूर्ण रूपमा भरपर्दो रहेको उल्लेख गरे ।राजदूत घिमिरेले नेपाल सरकारले सूचना प्रविधि र सफ्टवेयर उत्पादनलाई उच्च महत्त्व दिएको भन्दै हालको निर्यात ५०० मिलियन अमेरिकी डलरबाट २५ बिलियन डलर पुर्याउने लक्ष्य रहेको बताए । साथै १५ लाखलाई रोजगारी सृजना गर्ने महत्वाकांक्षी लक्ष्य घोषणा गरेको बताए ।त्यस्तै, याङ्गुन क्षेत्रका मुख्यमन्त्री यू सोई थिनले आधुनिक डिजिटल संसारमा यस कार्यक्रमको सान्दर्भिकता माथि जोड दिँदै दूतावास टोलीलाई पहलका लागि बधाई दिए । सहभागी नेपाली आईटी कम्पनीहरुलाई म्यानमारमा स्वागत गर्दै उनले दुई देशका आईटी क्षेत्रहरु बीचको सहकार्यलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।म्यानमार सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत नेपाली प्रवासी भेषराज खतिवडाले आफ्नो अनुभव साट्दै नेपाली कम्पनीहरूलाई म्यानमारमा आईटी र डिजिटल सेवाको क्षेत्रमा विद्यमान खाडल पहिचान गरी लाभ लिन आग्रह गरे ।
