उत्तर कोरियाले थप ६ सय बेलुनमार्फत दक्षिण कोरियामा फोहोर पठाएको छ । उत्तर कोरियाले आइतबार चुरोटका ठुटा लगायत प्लाष्टिकजन्य फोहोरले भरिएका थप ६ सय बेलुन दक्षिण कोरिया पठाएको हो ।उत्तर कोरियाले बेलुनमार्फत पठाएको फोहोर भुइमा खस्नेवित्तिकै दक्षिण कोरियाली सेनाले संकलन गरेका थिए । ‘उत्तर कोरियाले शनिबार राती ८ बजेदेखि निरन्तर बेलुनमा फोहोर भरेर पठाइरहेको थियो’ सिओलस्थित दक्षिण कोरियाली सेनाले दी गार्जियनसँग भनेका छन्, ‘आइतबार बिहान १० बजेसम्म झन्डै ६ सय बेलुन फोहोर हाम्रो क्षेत्रमा आइपुगेको थियो । झन्डै २० वटा बेलुन त हावामा उडिरहेको देखेका थियौ ।’उत्तर कोरियाले पठाएको फोहोरको बेलुन दक्षिण कोरियाको राजधानी सिओलसहित अन्य उत्तरी प्रान्तहरुमा अवतरण भएका थिए । ति प्रान्तहरुमा दक्षिण कोरियाको अधिकांश जनसंख्या बसोबास गर्दै आएको छ ।उत्तर कोरियाले ‘इमानदारिताको उपहार’ भन्दै अघिल्लो शाताको मंगलबारदेखि नै बेलुनमार्फत फोहोरको झोला दक्षिण कोरियामा पठाइरहेको छ । मंगलबारदेखि हालसम्म झन्डै ९ सय बेलुन फोहोर दक्षिण कोरिया पठाइसकेको छ ।दक्षिण कोरियाका रक्षा मन्त्री शिन वोन सिकले उत्तर कोरियाको व्यवहारप्रति शनिबार प्रतिक्रिया दिदै ‘अकल्पनिय र तल्लो स्तरको व्यवहार’ भनेका छन् । साथै मन्त्री उनले उत्तर कोरियाले यस्तोखाले व्यवहार बन्द नगरे कडा कदम चालिनेसमेत चेतावनी दिएका छन् । उत्तर कोरियाले पठाएको फोहोरमा चुरोटका ठुटा, कागजका टुक्रा, प्लाष्टि र कपडाका टुक्राहरु फेला परेपनि हालसम्म हानीकारक फोहोर भने फेला नपरेको दक्षिण कोरियाली अधिकारीहरुले जनाएका छन् । उत्तर कोरियाको उक्त गतिविधि सेनाले निगरानी गरिरहेको अन्र्तराष्ट्रिय मिडियाले जनाएका छन् । उत्तर कोरियाले प्रोपोगान्डाको लागि यस्तो व्यवहार गरिरहेको हुन सक्ने दक्षिण कोरियाको भनाई छ ।
दी गार्जियनबाट
