काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले चिर प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हरायो । उक्त खेलमा दुबै टोलीले ठुलो स्कोर बनाएका थिए ।टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५ विकेट गुमाएर एक सय ९४ रन बनायो । अमेरिकाले १७.४ भने ओभरमा ३ विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।टी–२० विश्वकपको इतिहासमा कुनै पनि टोलीले हासिल गरेको यो तेस्रो ठुलो लक्ष्य हो । यसअघि सन् २०१६ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले दिएको दुई सय ३० रनको विजयलक्ष्य इङ्ल्यान्डले १९.४ ओभरमा आठ विकेट गुमाएर पुरा गरेको थियो ।यसैगरी सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणमा वेस्ट इन्डिजले दिएको दुई सय ६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.४ ओभरमाकेवल दुई विकेट गुमाएर दुई सय आठ रन बनाउँदै पार गरेको थियो । यसका अतिरिक्त सन् २०१० को टी–२० विश्वकपको सेमिफाइनलमा पनि पाकिस्तानले दिएको एक सय ९२ रनको विजयलक्ष्य अस्ट्रेलियाले १९.५ ओभरमा ७ विकेट गुमाएर एक सय ९७ रन बनाउँदै पार गरेको थियो । टी–२० विश्वकपको इतिहासमा अमेरिका सबैभन्दा ठुलो विजयलक्ष्य पुरा गर्ने आईसीसीको पहिलो एसोसिएट्स सदस्य राष्ट्र पनि बनेको छ । यसअघि टी–२० विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले यति ठुलो विजयलक्ष्य पुरा गर्न सकेको थिएन ।क्यानडाविरुद्ध आइतबार खेलिएको खेलमा अमेरिकाका ब्याट्सम्यान एरोन जोन्सले अविजित ९४ रन बनाएका थिए । यस क्रममा उनले केवल ४० बलको सामना गरी १० छक्का र चारवटा चौका पनि हिर्काएका थिए । एरोन जोन्स टी–२० विश्वकपको इतिहासमा उद्घाटन खेलमा १० वटा छक्का प्रहार गर्ने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन् । यसअघि सन् २००७ को टी–२० विश्वकपको उद्घाटन खेलमा वेस्ट इन्डिजका क्रिस गेलले दक्षिण अफ्रिकाविरुद्ध १० वटा चौका प्रहार गरेका थिए । त्यो खेलमा क्यारेबियन ब्याट्सम्यान क्रिस गेलले एक सय १७ रन बनाएका थिए । उनले केवल ५७ बलको सामना गरी १० छक्का र सातवटा चौका पनि हिर्काएका थिए । यद्यपि, त्यो खेलमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको थियो । यसका अतिरिक्त क्रिस गेलले सन् २०१६ को विश्वकपको सुपर–१० चरणको आफ्नो पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध ११ वटा छक्का प्रहार गरेका थिए । त्यो खेलमा उनले अविजित एक सय रन बनाएका थिए । त्यो खेलमा वेस्ट इन्डिज ६ विकेटले विजयी भएको थियो । यसैगरी आइतबार सम्पन्न क्यानडाविरुद्धको खेलमा अमेरिकाका ब्याट्सम्यान एरोन जोन्स र एन्ड्रिज गौसले तेस्रो विकेटका लागि ५८ बलमा एक सय ३१ रनको साझेदारी गरेका थिए । एन्ड्रिज गौसले ४६ बलमा तीन छक्का र सात चौकाको मद्दतले ६५ रन बनाएका थिए ।

टी–२० विश्वकपको इतिहासमा तेस्रो विकेटका लागि कुनै पनि ब्याट्सम्यानले गरेको यो दोस्रो ठुलो साझेदारी हो । यसअघि सन् २०१४ को टी–२० विश्वकपमा श्रीलंकाविरुद्ध इङ्ल्यान्डका एलेक्स हल्स र ईयोन मोर्गनले तेस्रो विकेटका लागि एक सय ५२ रनको साझेदारी गरेका थिए ।
यसैगरी एरोन जोन्स र एन्ड्रिज गौसले आइतबार क्यानडाविरुद्धको खेलमा गरेको एक सय ३१ रनको साझेदारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाका ब्याट्सम्यानले कुनै पनि विकेटका लागि गरेको हालसम्मकै सबैभन्दा ठुलो साझेदारी पनि हो ।
यसअघि सन् २०२१ मा खेलिएको आयरल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाका लागि सुशान्त मोदानी र गजानन्द सिंहले एक सय १० रनको साझेदारी गरेको थिए । उनीहरुले त्यो साझेदारी पाँचौँ विकेटका लागि गरेका थिए ।
यसैगरी एरोन जोन्सले आइतबार क्यानडाविरुद्धको खेलमा केवल २२ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । यो कुनै पनि उत्तर अमेरिकी राष्ट्रका ब्याट्सम्यानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा बनाएको अर्धशतक हो ।
यसैगरी आइतबार क्यानडाविरुद्धको खेलमा अमेरिकाका एरोन जोन्स र एन्ड्रिज गौसले केवल ४२ बलमा एक सय रनको साझेदारी गरेका थिए । टी–२० विश्वकपको इतिहासमा कुनै पनि ब्याट्सम्यानले यति कम बलमा एक सय रनको साझेदारी गरेको यो पहिलो पटक हो ।