बुटवल । विद्युतीय सवारीको प्रयोग बढेसँगै बुटवलको एक बहुउद्देश्यीय सहकारीले विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । बुटवलको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने भएको हो ।उक्त सहकारीले आफ्नै भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फास्ट चार्ज’ सहितको स्टेसन सञ्चालनमा ल्याउन लागेको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए । उनका अनुसार अहिले स्टेसनको काम भैरहेको छ ।पूर्व–पश्चिम राजमार्गदेखि ३० मिटर दुरीमा स्थापना गर्न लागिएको चार्जिङ स्टेसनबाट दैनिक ९० बढी सवारीका साधनलाई सेवा उपलब्ध गराउन सकिने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालन गरिने यो स्टेसनमा मानवरहित सेवा उपलब्ध गराइने छ भने सेवाग्राहीले अनलाइन भुक्तानी गर्न सक्नेछन् । सो स्टेसनमा आधुनिक सफ्टवेयरमार्फत सञ्चालन भई अनलाइन माध्यमबाट रकम भुक्तानीको सुविधासहित ६० किलोवाट क्षमताको सीसीएस ९२ डबल गनको मेशिन तथा ६० किलोवाटकै जीबीटी डबल गन सहितका २ वटा मेशिन जडान हुँदैछन् । जहाँ एकसाथ ६ वटा सवारीले सेवा लिन मिल्ने गरी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुनसक्छ । स्टेसनमा बुटवल–गुल्मी सडक खण्डमा सञ्चालन हुँदै आएका १३ वटा सवारीका लागि सम्झौता भइसकेको छ भने बुटवलका अन्य सवारी धनीहरूसँग पनि सम्झौताका लागि प्रक्रिया अघि बढेको सहकारीकी उपाध्यक्ष माया गौतमले जानकारी दिइन् । स्टेसन सञ्चालनका लागि विद्युत् प्राधिकरणले २ सय केभीको छुट्टै ट्रान्सफर्मर जडान गरेर सहयोग गरेको बताउँदै उनले मापदण्डअनुसार स्नान कक्ष, शौचालय, आराम कक्ष तथा चमेना गृहलगायतका संरचना निर्माण गर्न करिब १ करोड लगानी गरिएको बताइन् । बुटवल बसपार्कमा प्राधिकरणले चार्जिङ स्टेसन निर्माण गरिसकेको छ भने अहिले बन्न लागेको निजी क्षेत्रको पहिलो चार्जिङ स्टेसन हो ।
