काठमाडौं । दोलखाको विगु गाउँपालिका–१, देउरालीमा सुक्खा पहिरो खसेको छ । पहिरोले सडक बाटो समेत भत्काएको छ ।शुक्रबार बिहान सुक्खा पहिरो तामाकोसीमा खस्दा केही बेर तामाकोसी थुनिएको थियो । अहिले थुनिएको तामाकोसी खुलेको छ । “सुक्खा पहिरोले बाटो समेत लगेको छ । थुनिएको तामाकोसी अहिले खुलिसकेको छ । घटना शुक्रबार बिहान ११ बजेतिर भएको हो,” विगु गाउँपालिका वडा नं।१ का वडाध्यक्ष मेमबहादुर तामाङले भने, “पहिरोले सडक समेत लग्दा दुई गाउँको सडक सम्पर्क टुटेको छ ।” वडाध्यक्ष तामाङका अनुसार पहिरोले सडक भत्किँदा लप्ची र लुन्नाङ गाउँसँगको सडक सम्पर्क टुटेको छ । सडक भत्किँदा करिब ३० विदेश पर्यटक अलपत्र परेको उनले जानकारी दिए । पहिरोका कारण कुनै मानवीय क्षति नभएको उनले बताए । “तत्काल सडक बाटो बनाउन गाह्रो छ । त्यसैले हामी वैकल्पिक बाटो बनाउने सोचिरहेका छौँ । छिट्टै बनाउँछौँ,” वडाध्यक्ष तामाङले भने । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माणस्थल यसै वडामा पर्छ ।
