काठमाडौँ । जनता समाजवादी पार्टी नेतृत्वमा रहेको मधेस प्रदेश सरकारका प्रेस सल्लाहकार सीताराम अग्रहरीले राजीनामा दिएका छन् । मधेस सरकारमा आफ्नो क्षमता प्रयोग गर्न नसकेको भन्दै उनले हिजो आफ्नो पदबाट राजीनामा दिएका हुन् ।उनले भनेका छन्, ‘करिब १४ महिनापछि राजीनामा दिएर जनकपुर छाड्दैछु । आफैसँग खुसी छैन, दुःख लाग्दछ सोचेको केही हुन सकेन । मेरो क्षमताको एक अंश पनि उपयोग हुन सकेन ।’गोरखापत्रका पूर्वप्रधान सम्पादक समेत रहेका अग्रहरीले आफू त्यहाँ रहँदा सरकारले कुनै पनि सल्लाह नलिएको र आफूले दिँदा पनि त्यसको कुनै कार्यान्वयन नभएको उनले बताए । उनले आफू सुरुमै त्यहाँबाट निस्कन चाहेको भए पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले नछाड्न भनेका कारण बसेको बताए । तर अहिले सरकारको रवैयाका कारण राजीनामा दिएर हिँडेको उनले बताए ।उनले मधेस सरकारको नेतृत्व लगायत कोही पनि इमानदार नरहेको बताउँदै त्यहाँका सरकारी कर्मचारी पनि त्यस्तै रहेको टिप्पणी गरे । मधेसी जनताले गरेको अपेक्षाअनुसार सरकार र सरकारका मन्त्रीहरूले काम नगरेको बताउँदै अग्रहरीले त्यो दोषको भागिदार आफू बन्न नचाहेर राजीनामा दिएको बताए । उनले भने, ‘मैले सबैलाई नजिकबाट हेरेँ, त्यहाँ समर्पण र त्यागको कमी छ, बडो दुःख लाग्दो स्थिति छ ।’
