तडी। बैतडीको पाँच वटा सिँचाइ योजनामा करोडौँ रुपियाँ खर्च भए पनि नहर तथा कुलोमा भने पानी बग्न सकेको छैन । सिँचाइ डिभिजन कार्यालयले योजना निर्माण कार्य पूरा नगर्दा मुख्यमन्त्री नमुना कृषि गाउँको जमिन बाँझो रहेको छ ।मेलौली नगरपालिका–८, भम्त खोरडामा मुख्यमन्त्री नमुना कृषि गाउँमा लिफ्ट गरी सिँचाइका लागि २०७७ देखि २०८० सालसम्म एक करोड २० लाख रुपियाँ बजेट आए पनि योजना पूरा नहुँदा खेत बाँझो रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ७२ लाख, आव २०७७/७८ मा ३६ लाख, आव २०७८/७९ मा ३० लाख र आव २०७९/८० मा २० लाख रुपियाँ बजेट उक्त योजनामा खर्च भइसकेको छ । डिभिजन कार्यालयबाट सञ्चालित मेलौली नगरपालिका–१ मा रहेको अर्को मुन्द्रे–स्यालतडी सिँचाइ योजना पनि अलपत्र परेको छ । सो योजनामा चालु आवमा ३० लाख रुपियाँ बजेट आए पनि निर्माण सुरु गरिएको छैन । त्यस्तै पाटन नगरपालिका–१०, मटेगाउँको जाइकटरी नमुना सिँचाइ योजनामा ५० लाख रुपियाँ खर्च हुँदा पनि खेतमा सिँचाइ पुग्न सकेको छैन । लिफ्ट सिँचाइका लागि खरिद गरिएका ४० लाख मूल्य बराबरका सोलारपाता अलपत्र पारिएको छ ।यो गाउँमा विद्युत् प्राधिकरणको थ्री फेज लाइन पुगेको भए पनि सोलारपाता खरिद गरी रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ । मटेगाउँ सिँचाइ योजना पूरा गर्न पाइप आवश्यक रहेको उपभोक्ता समितिका अध्यक्ष नवीन भट्टले बताए । सिँचाइ कार्यालयले टेन्डरमार्फत सोलारपाता किनेको तर पाइप उपलब्ध नगराएको उहाँले गुनासो गरे।सिँचाइ कार्यालयको चरम लापर्बाही यतिमा मात्र सीमित छैन, सिगास गाउँपालिका–१, स्यापागैर सिँचाइ योजनामा आव २०७६/७७ मा १५ लाख रुपियाँमा खरिद गरेका ९० एमएमका पोलिथिन पाइप आगोले पोलिएका छन् भने केही खोलाले बगाएको छ । सिँचाइ सुविधा नहुँदा तीन वटा गाउँ (अङ्डेगाडा, भौनी र बेसारा) मा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । कार्यालयले सिगास गाउँपालिका–१, खन्तडमा सिँचाइ योजना पनि बिचमै अलपत्र पारेर छाडेको गुनासो उपभोक्ताले गरेका छन् । सुर्नया नदी किनारमा रहेको मेलौली नगरपालिका–१, मुन्द्रे–स्यालतडी खेतमा लाग्ने कुलो २०६२ सालमा आएको बाढीले बगाएपछि पुनर्निर्माण हुन सकेको छैन । सिँचाइ कुलो निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालमा पुनर्निर्माण अगाडि बढाए पनि सो योजना पूरा हुन सकेको छैन ।
सो कुलो निर्माणका लागि आएको एक करोड २० लाख रुपियाँ बजेट सिँचाइ डिभिजन कार्यालयका कर्मचारीले फिर्ता पठाइदिएको आरोप मुन्द्रे–स्यालतडीका किसानको छ । सो कार्यालयका कर्मचारीले बहुवर्षीय ठेक्का हो भन्दै २०८० सालको बजेट अलमल पारी फिर्ता गरेको गुनासो किसानको छ । चालु आव २०८०/८१ मा पुनः ३० लाख रुपियाँ बजेट आएको छ ।सो बजेट खर्च गर्न कार्यालयका प्राविधिकले आलटाल गरेको उपभोक्ताले बताएका छन् । प्राविधिक राजेन्द्र नाथ मुख्यमन्त्री नमुना गाउँको सिँचाइ योजना यो वर्ष नै पूरा हुने दाबी गरे। गोरखापत्रबाट
