काठमाडौँ । न्युयोर्क-संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन् । अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे । त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवङ्गत हुनुभएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले स्वर्गीय राई शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे । राईको गत अक्टोवर १३ मा कङ्गोमा निधन भएको हो । सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका रूपमा मनाइने गरेको छ । नेपाल राष्ट्रसङ्घीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको एक हो । छ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन् ।
