खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । सोही गाउँपालिका–१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएका हुन् ।

मृतक रेग्मी गएराति दाजुको घरबाट करिब ८.३० बजे हिँडेको जानकारी पाइएको वडाध्यक्ष राईको भनाइ छ । उनको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए । रेग्मीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ ।
तत्कालीन कृषि विकास कार्यालय खोटाङ हुँदै कर्मचारी समायोजनका क्रममा रावाबेँसी गाउँपालिका पुगेका रेग्मीका श्रीमती, चार छोरी र एक छोरा छन् । मृतक रेग्मी १६ महिनापछि अनिवार्य अवकाश हुँदै थिए ।