काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन १० महिना सरेको छ । आज (बिहीबार) बसेको रास्वपा केन्द्रीय समितिको बैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

रास्वपाको महाधिवेशन यही वैशाखमा हुने बताइएको थियो । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा रास्वपाले अन्ततः महाधिवेशन नै सारेको हो ।
रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आजको बैठकले आगामी असोजसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ ।