काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापा १५औं महाधिवेशनमा आफ्नै समूह खडा गर्नेगरि मुभ भएका छन् । १४औं महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट महामन्त्रीमा बाजी मारेका गगन यतिवेला शेखरसँग पानी बाराबारको अवस्थामा छन् । शेखरले पनि गगनलाई महत्व दिन छोडेका छन् ।

१५औं महाधिवेशनमा शेखर र गगन दुवैले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरिसकेकोले यो समूह एक ढिक्का नहुने भएको हो । सभापति शेरबहादुर देउवाले पनि अहिलेसम्म १५औं महाधिवेशनमा आफ्नो उम्मेद्वार को हुने भनेर खुलाएका छैनन् । उनी उत्तराधिकारी छान्ने विषयमा मौन बसिदिँदा सो समूहपनि छिन्नभिन्न हुने निश्चित् छ ।
अहिले सभापति देउवाकै समूहमा रहेका उपसभापति पूर्ण बहादुर खड्कापनि सभापतिको आकांक्षी हुन् । तर, युवा पुस्तालाई समेट्नको लागि उनी एकपटक उपसभापतिमै दोहोरिन राजी भएर गगनलाई सभापतिमा स्विकार गर्ने पक्षमा पुगेको चर्चा छ । पछिल्लो समय खड्का र थापाबीचको दोस्ती कसिलो बनेको छ ।
पार्टीका कार्यक्रमहरुमा पनि यी दुवैले राम्रो केमेष्ट्री शो गरिरहेका छन् । देउवा समूहका दोस्रो तहका नेताहरुले मोर्चाबन्दी कसेको बेलामा खड्का भने थापाको आडभरोसा बन्नेगरि अघि बढेका छन् । कुनै बेला कृष्ण सिटौला गुटमा रहेका गगन पछि शेखर हुँदै अहिले सभापति देउवाकै क्याम्पमा पुगेको चर्चा छ ।
तर, सभापति देउवाले आफ्नो समूहका नेताहरुसँग एकचरण १५औं महाधिवेशनकेन्द्रित छलफल गरिसकेका छन् । देउवाले १५औं महाधिवेशनमा आफ्नै समहूबाट सभापतिको उम्मेद्वार हुने भन्दै अहिले आफूले नाम चयन नगरिसकेको भनेका थिए । सभापतिको लागि गोपालमान श्रेष्ठदेखि प्रकाशरण महतसम्मले मुख मिठ्याएर बसेका छन् ।
तर, देउवाले कसलाई अघि सार्छन् भन्ने कुरा अझै एक वर्ष खुल्ने छाँटकाँट छैन् । यस्तोमा गगनले देउवा समूहका असन्तुष्टसँग हिमचिम बढाएका छन् । अहिले गगनको पक्षमा पूर्णबहादुरसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत खुलेका छन् ।
गगनले संसदीय दलको नेतामा शेखर समूहबाट सभापति देउवासँग प्रतिष्पर्धा गर्दा थोरै मत पाएका थिए । त्यतिवेला शेखर समूहकै सांसदहरु थापाको पक्षमा नखुलेको बताईन्छ । अहिले शेखर समूहकै अधिकांश सांसदहरु गगनको पक्षमा खुल्न थालेको बताईन्छ । थापा देशव्यापी अभियानमा जुटेका छन् ।
उनको पक्षमा पार्टी पँक्तिको पनि ठूलो लहर र आकार्षण देखिएको छ । उनी कुनैपनि हालतमा १५औं महाधिवेशनमा सभापतिको रेसबाट ब्याक नहुने पक्का भएको छ । उनी पार्टीभित्र परिवर्तनकामी धारको नेतृत्वकर्ता भएकोले उनलाई युवा पँक्तिले विश्वास गर्ने बलियो आधार देखिएको छ ।
