काठमाडौं । पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग भोलि सरकारले वार्ता गर्ने भएको छ । भोलि साँझ ६ बजे नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने तय भएको नेकपा एमाले सांसद योगेश भट्टराईले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘वहाँहरूले माननीय गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरें । माननीय गृह मन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनुभएको जानकारी गराउँदछु ।’
आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फ़त समस्याको समाधान गर्न समेत उनले अनुरोध गरेका छन् ।आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आज तय भएको वार्ता भाँडिएको थियो । आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरु मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँगमात्रै वार्ता बस्ने भन्दै छलफलबाट हिँडेका थिए ।उनीहरुले आज साँझसम्मको समय दिएर मन्त्रीस्तरीय या उच्च राजनीतिक वार्ता टोली नबनाए भोलिदेखि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते आज विस्तृत बैठक बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।