काठमाडौं, २५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले रवि लामिछानेपछि सरकारले प्रतिशोध साँधेको बताएका छन् । अर्यालले आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले सरकारको रवैयामा संसद्लेसमेत समर्थन गरेको आफूहरुलाई भान भएको बताए । सांसद अर्यालले लामिछानेको सांसद पद निलम्बन गरिनु प्रतिनिधि सभाको नियमावली–२०७९ को नियम २४८ को विपरीत रहेको बताए । उनले लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न माग गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साध्योसाध्यो, सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महशुस भएको छ । एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कैपनि चुकाउनुपर्ने छ । झुठा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन् । सरकारको यस्तो रवैयालाई सार्वभौम संसद्ले समर्थन नगरोस् । प्रतिनिधि सभाको नियमावली–२०७९ को नियम २४८ को उपनियम ३ को सही प्रयोग होस् भन्न चाहन्छु् । थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न माग गर्दछु,’– उनले भने ।