काठमाडौँ — ‘आँसुको शक्ति’ लेखक एंव शक्ति समूहकी संस्थापक तथा पूर्व अध्यक्ष सुनिता दनुवारको निधन भएको छ । सुनिताको आज (सोमबार) बिहान मृत्यु भएको श्रीमान नृपले जानकारी दिए ।

‘आईतबार राति खाना खाएर सुत्दा ठिकै थियो । साढे ५ बजे अर्लाम बजेको थियो । उसलाई उठाएँ मैले । उनी उठिनन् । हातहरू चिसो भएको थियो,’ उनले भने, ‘पौन छ बजे हस्पिटल लग्यौं । हस्पिटलले मृत्यु भइसकेको बतायो ।’
सुनिताको शवलाई जोरपाटीस्थित नेपाल मेडिकलमा राखिएको छ । उदयपुरबाट नृपका परिवार आइसकेपछि पशुपति आर्यघाटमा अन्येष्टि गरिने जनाइएको छ ।
२०३४ साउन १ गते दैलेखमा जन्मिएकी सुनिता सन् २०१३ मा ‘रोमन म्यागासेसे अवार्ड’ र सन् २०१४ मा ‘सी–१०’ अवार्डबाट सम्मानित समेत भएकी छन् । उनको एक छोरी स्वस्तिका र छोरा सुसान छन् ।