काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले ०५६ सालपछि अनुत्तीर्ण/अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा ग्रेड नल्याएका विद्यार्थीका लागि आगामी पुस १९ गतेसम्म मौका परीक्षाका लागि आवेदन दिन भनेको छ । पहिलोपटक मंसिर २७ गतेसम्म फारम बुझाउने मिति तय गरेको बोर्डले पछिल्लो पटक समयावधि थपेको हो ।

सोही मौका परीक्षाबारे बुझ्न अघिल्लो साता बोर्डको कार्यालयमा झापाका एक विद्यार्थी पुगे । उनी विगत पाँच वर्षदेखि आफू अनुत्तीर्ण विद्यार्थीको सूचिमा छु भन्नेमै थिए ।
जब बोर्डको केन्द्रीय कार्यालय सानोठिमीमा पुगे, त्यसपछि मात्रै थाहा भयो– उनी पास भइसकेका रहेछन् । उनको रजिस्ट्रेसन नम्बरबाट विवरण हेर्दा त ०७६ सालमै उत्तीर्ण भएको खुल्यो ।
परीक्षा बोर्डका उपनियन्त्रक कृष्ण घिमिरेका अनुसार, ती विद्यार्थीलाई विद्यालयले नै अनुत्तीर्ण भनेको रहेछ ।