काठमाडौं – एसिसी यु १९ महिला एसिया कपमा नेपालले भारतलाई जितको लागि सामान्य लक्ष्य दिएको छ ।

मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको सामान्य योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी थिईन् । अलिसा कुमारी यादवले ९ बलमा ४ चौकाको सहयोगमा ९ रनमा नट आउट रहिन् ।
ओपनर साना प्रविन ९, उपकप्तान सोनी पाख्रिन ८ तथा ज्योत्सिका मरासिनी ६ रनमा आउट भईन् । भारतका लागि पुरोनीका सिसोदीले ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिईन् । आनन्दिता किशोरीले १ विकेट लिईन् ।
नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरिसकेको छ । सोमवार भएको खेलमा पाकिस्तानलाई नेपाल ६ विकेटले पराजित गरेको हो ।
भारतले पनि पाकिस्तानलाई हराएसँगै सुपर ४ मा स्थान पक्का गरिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।
यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।