काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्तिा पारिएका व्यक्तिको छानबिन आयोग (टीआरसी) को पदाधिकारी सिफारिस गर्न गठित समितिको बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकले संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा एक समिति गठन गरेको थियो । सो समितिले आगामी पुस २ गतेभित्रमा दुवै आयोगमा एक अध्यक्ष र चार जना सदस्यसहित पदाधिकारीको नाम सरकारलाई सिफारिस गर्नुपर्नेछ ।
दुवै आयोगको पदाधिकारी छनोट तथा सिफारिस समितिमा संस्थागत र व्यक्तिगत गरी १५६ जनाको आवेदन परेको छ । तीमध्येबाट आज संक्षिप्त सूची सार्वजनिक गर्ने तयारी छ । बिहीबार साँझ यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।
तीन दलका शीर्ष नेताबीच भएको छलफलमा सहमति भने नजुटेको स्रोतले जानकारी दियो । राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्त हुने भएकाले सबै दलले आफू निकटलाई नेतृत्वमा लान चाहेका छन् । सत्य निरुपण आयोगमा नेपाली कांग्रेस र वेपत्तिा पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्वमा एमालेको दाबी छ ।