मिन बहादुर खड्का काठमाडौँ : प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गणतन्त्रले नेपालको संविधानबमोजिम मुलुकलाई समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको बताएका छन् । आज गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदै उनले वर्तमान समयको सबै उपलब्धि गणतन्त्र पछि नै प्राप्त भएको जिकिर गरेका छन् ।

नेपालको संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको पनि प्रधानमन्त्री प्रचण्डको भनाई छ । त्यसैअनुरूप सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी आफ्नो कार्यसम्पादन गरिरहेको प्रचण्डले उल्लेख गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुभकामना दिदै भनेका छन् ।
गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत हो। हामीमा गणतान्त्रिक जीवनशैली विकास भएको छ र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको छ, वास्तविक रूपमा गणतन्त्र अरुका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि हो, अझ, त्यसभन्दा माथि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयहरूमा स्वनिर्णयको अधिकार समेत होू तसर्थ, यसका लाभहरूलाई आम नागरिकमा पुर्याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको उनले बताएका छन् ।
नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधान सभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिन गणतन्त्र दिवसको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु प्रचण्डले शुभकामना वक्तव्यमा उल्लेख गरेका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनहरू, जनयुद्ध, २०६२र६३ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहितका आन्दोलन तथा सङ्घर्षका महान् शहीदहरूको स्मरण गर्दै प्रधानमन्त्रीले सहिदहरुको बलिदानी अविस्मरणीय रहेको बताउदै सहिद प्रती श्रद्धा सुमन समेत व्यक्त गरेका छन् ।
गणतन्त्र प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्गहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता दिदीबहिनी दाजुभाइहरूप्रति उच्च सम्मान प्रकट गर्दछु प्रधानमन्त्री प्रचण्डले भनेका छन् । गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको प्रधानमन्त्री प्रचण्डको धारणा छ । गणतन्त्र दिवसले हामीहरूलाई शहीदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन् ।
आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले शुधकामना दिएका हुन् ।जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।