कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताएका छन्।

नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाइ समितिले आज यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै उनले जनताको पैसा हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताएका हुन्।
उनले कांग्रेसले सहकारीपीडित जनताको समस्यालाई संसद् र सडकबाट उठाएको बताए। नेता डा. कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाबारे सिकाउन नपर्ने बताए। ‘संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ, तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,’ उनले भने।
नेता कोइरालाले छिटोभन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन्। उनले पछिल्लो समय चारैतिर अराजकताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए।
उनले कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे। सहकारीको पैसा हिनामिना हुँदा सरकार मूकदर्शक बनेर बसेको उनको भनाइ छ।
‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु,’ डा. कोइरालाले भने। उनले नेपालमा आयुर्वेदिक शिक्षाको महत्त्व दिन प्रतिदिन बढ्दै गएको बताए। राज्यले आयुर्वेदिक विज्ञानलाई जसरी अगाडि बढाउनुपर्ने हो त्यो बढाउन नसकेको उनको भनाइ छ।
डा. कोइरालाले आयुर्वेदको अनुसन्धान गर्न केले बाधा पुर्यायो त्यो बुझ्न जरुरी रहेको उल्लेख गरे। विद्यार्थीको समस्या देशको समस्या भएकाले यसको समाधानका लागि राज्य लाग्नुपर्ने उनको भनाइ छ।
लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरू व्यवस्था नभएको बताउँदै नेता कोइरालाले संविधानमा भएको कमी–कमजोरीलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे।