काठमाडौँ । वेस्ट इन्डिज क्रिकेट टोलीका प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले प्रभावशाली अलराउन्डर जासन होल्डर विश्वकप टोलीबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् । जासन होल्डर टोलीका अनुभवी खेलाडी भएकाले विश्वकपमा उनको अभाव खड्किने डेसमन्डको ठम्याई छ ।

‘विश्वकपमा जासन होल्डरको अनुपस्थिति हाम्रा लागि चिन्ताको विषय हो । उनी टोलीका अनुभवी अलराउन्डर हुन् । उनी छिट्टै टोलीमा फर्कनेछन् भन्ने विश्वास हामीले लिएका छौँ । विश्वकपको सँघारमा क्रिकेट वेस्ट इन्डिजका लागि यो दुर्भाग्यपूर्ण क्षण हो,’ प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले भनेका छन् ।
उनले ओबेद मकाए पनि क्षमतावान् खेलाडी भएको बताए । ‘ओबेद मकाए पनि प्रतिभाशाली खेलाडी हुन् । उनका लागि ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता देखाउने यो उपयुक्त अवसर पनि हो,’ डेसमन्ड हेन्स भन्छन् ।
केही समयअघि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा आएको थियो । त्यतिबेला ओबेद कमाए पनि क्यारेबियन टोलीमा थिए । नेपाल भ्रमणका क्रममा उनले पाँचवटा टी–२० खेलमा कुल ८ विकेट लिएका थिए । हालै सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा पनि उनले दुई विकेट लिएका थिए ।