प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा जारी अवरोध १५ जेठसम्म हट्ने विश्वास व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू केही दिनदेखि राजनीतिक दलहरुका बीचमा सहमति जुटाउन प्रयासरत रहेको बताए ।‘मलाई विश्वास छ– आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने । १५ जेठमा संसदमा बजेट पेश गर्ने संवैधानिक प्रावधान छ ।
आइतबार बिहान आफू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेको भन्दै प्रचण्डले सहमतिको नजिक पुगेको बताए ।कांग्रेसले सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । यसमा सत्तापक्षमा रहेका दलहरु पनि सहमत भएका छन् । तर, संसदीय समितिको कार्यादेश टुंगो लागेको छैन ।
कार्यदेश टुंगो लगाउन यही जेठ ५ गते कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलमा कांग्रेसका तर्फबाट जीवन परियार, एमालेको तर्फबाट महेश बर्तौला र रास्वपाका तर्फबाट शिशिर खनाल सदस्य छन् ।
कार्यदलस्तरमा जारी छलफल सकारात्मक रहेको र दलहरुका बीचमा चाँडै सहमति जुट्ने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संसदमा नै बजेट पेश हुने पनि बताएका छन् । कतिपयले अध्यादेशबाट सरकारले बजेट ल्याउन सक्ने आशंका गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरिने बताए । नीति तथा कार्यक्रममा परेको संशोधनको विषय समेतलाई ख्याल गरेर बजेट प्रस्तुत गरिने उनको प्रतिवद्धता छ ।
सरकारको नीति तथा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संशोधनको सूचना दिएका थिए । उनीहरुले नीति तथा कायक्रमको बिभिन्न बुँदामा संशोधन प्रस्ताव गरेका छन् ।
प्राप्त संशोधनका विषय बजेटमा समावेश गर्न पहल गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता छ ।